काठमाडौँ, १६ माघ । नेपाली काङ्ग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ । उहाँ यतिबेला काङ्ग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहनुभएकी सपना पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील हुनुहुन्थ्यो ।
नवीन्द्र सोही क्षेत्रबाट ०६४ र ०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उहाँ क्षेत्र र पार्टीभित्र लोकप्रिय हुनुहुन्थ्यो ।
नवीन्द्र सक्रिय राजनीतिमा रहेकाबेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहनुभएकी सपना पछिल्लो सयम राजनीतिक गतिविधिमा देखिन थाल्नुभएको थियो । नेपाली काङ्ग्रेसका सार्वजनिक कार्यक्रममा सक्रिय हुनुहुन्थ्यो ।
१३ चैत २०७७ मा मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उहाँलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताउनुभएकी उहाँले नेपाल न्युज बैङ्कसँग छोटो चुनावी संवादमा मतदाताको स्नेह आफूप्रति रहेको बताउनुभयो ।
“पहिलो चरणको चुनावी तयारीमा छु । पार्टीपङ्तिका साथीहरुसँग बैठक बसेर चुनावी रणनीति बनाइरहेका छौँ । हालसम्मको अवस्था हेर्दा सबैको स्नेह पाउँछु भन्नेमै छु,” उहाँले भन्नुभयो ।
आफ्नो क्षेत्रका मतदाताको ठुला आवश्यक्ताहरु नभए पनि दैनिक जीवनमा पर्ने आधारभूत कुराहरु ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
“मतदाताका अपेक्षाहरु धेरै हुन्छन् । तर, यस क्षेत्रका मतदाताहरुको ठुला आवश्यक्ताहरु छैनन् । पूरा गर्ने किसिमकै छन् । त्यसका लागि म निर्वाचित भए भने राम्रो हुनेछ भन्नेमा सबैजना आशावादी हुनुहुन्छ,” उहाँले अगाडि भन्नुभयो, “भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर हामी अगाडि बढनुपर्ने अवस्था रहेकाले तत्कालको आवश्यक्ता भनेको जेनजी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु हो । पुराना पार्टीका व्यक्तिहरु पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना छ । सही व्यक्तिहरु आउनुपर्छ भन्ने मतदाताहरुको इच्छा छ । नेपाली काङ्ग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले काङ्ग्रेसप्रति हेर्ने दृष्टिकोण बदलिएको छ ।”
काठमाडौँका अधिकांश तहमा काङ्ग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात नगरपालिकाहरुले जनताको चाहनाअनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताहरुको ठुलो अपेक्षा नभएको उहाँको बुझाइ छ । “केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका वडाबासीहरुको मागहरु सम्बोधन गर्न आवश्यक छ । मैले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएको थिए,” उहाँले भन्नुभयो ।
काठमाडौँ ८ निर्वाचन क्षेत्र उपत्यकाको कोर एरिया रहेकाले वा पुरातात्विक महत्त्वका स्थानहरु धेरै भएकाले त्यसको संरक्षण आजको आवश्यक्ता भएको जोशीको भनाइ छ ।
“मेरो निर्वाचन क्षेत्र पुरातात्विक हिसाबले महत्त्वपूर्ण छ । बसन्तपुर र स्वयम्भु लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकहरुले दुःख पाइरहेकाले त्यसको सुधारमा मेरो महत्त्वपूर्ण योजना हुनेछ । बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्त्वपूर्ण काम गर्नुपर्ने छ,” उहाँले भन्नुभयो ।
खोला किनारको बासिन्दाहरु आफ्नै किसिमको समस्या भएकाले त्यसको समाधानका लागि अदालतले पनि केही सहजीकरण गरिदिएको उहाँको बुझाइ छ ।
काठमाडौँ उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यक्ता रहेकाले विद्यालयस्तरमै सचेतना आवश्यक रहेको उहाँको भनाइ छ । “मैले यसअघिको संसद्मा यही मुद्दा उठाएको थिए । जसलाई राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । जसका कारण कुलतमा फसेका युथहरुलाई केही कन्ट्रोल गर्ने प्रयास भएको थियो,” उहाँले स्मरण गर्नुभयो ।
नेपालको संघीय संसद् सोचे जस्तो नभएको अनुभव सुनाउँदै उहाँले बाहिरबाट हेर्दाभन्दा भित्रको अवस्था विल्कुलै फरक हुने गरेको आफूले पाएको अनुभव सुनाउनुभयो । “हाम्रो संसद्को बाहिरी र भित्री चश्मा फरक रहेछ । काम गर्न वा विधेयकहरु पारित गर्न त्यति सजिलो प्रक्रिया रहेनछ,” उहाँले अनुभव साट्नुभयो ।
जेनजी आन्दोलनको लक्ष्य र उद्देश्य राम्रो भए पनि बिचैबाट ‘हाइज्याक’ गर्दा त्यसको मर्म मर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनपछि आफूहरुले जेनजीहरुको म्यान्डेटअनुसार काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
अन्तरिम सरकारका मन्त्रीहरुले पदको लोभमा जिम्मेवारी पूरा नगरी पदबाट राजीनामा दिएकोप्रति असन्तुष्ट जनाउँदै उहाँले सबैलाई पद र पावर चाहिने रहेछ भन्ने प्रष्ट देखिएको उहाँले जिकिर गर्नुभयो । “जुन उद्देश्यका लागि मन्त्री पदको जिम्मेवारी लिनुभएको थियो सो अनुसार उहाँहरुको भूमिका देखिएन । निस्कलङ्कित पनि हुनुभएन । सबै जनालाई जिम्मेवारी पूरा गर्ने भन्दापनि पद नै चाहिने रहेछ । चार जना मन्त्रीहरुले राजीनामा दिनुभयो । उहाँहरुलाई तुलना गर्नुहोस् न कति लालस रहेछ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनले नेपालका सबै राजनीतिक दलहरुको आँखा खोलिदिएको बताउँदै उनले सबै दलहरु सच्चिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । “पुराना पार्टीहरुका थुप्रै कमजोरीहरु छन् । त्यही कमजोरीको प्रतिफल स्वरुप जेनजी आन्दोलन भयो । यसले हामी सबैलाई सोच्न बाध्य बनायो । त्यही कारण नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन भयो र रुपान्तरित भएर अगाडि बढिसकेको छ । नयाँ भनिएका दलहरुले पनि गल्ती नगर्लान् भन्न सकिँदैन । उहाँहरुपनि सङलो हुनुहुन्न । तत्काल विश्वास गरिहाल्ने अवस्था देखिँदैन । पुराना दलहरु बदलिएर आए जनताको विश्वास अझै जितेर अघि बढ्नेछन्,” उहाँको दाबी थियो ।
उम्मेदवार जोशीले यतिबेला ठुला ठुला एजेन्डा र आश्वासनहरु बाँडेर अघि बढ्दा समस्या पर्ने पनि बताउनुभयो । “पूरा गर्न नसकिने ठुला कुरा गर्न हुँदैन । विगतको प्रतिनिधि सभामा हामीले देखिसक्यौँ । नीति बनाउने सवालमा वा विधेयक पास गर्ने सन्दर्भमा कति कठिन रहेछ भन्ने प्रष्ट देखेर भोगेर आएका छौँ । जनताले जिताएर पठाएपछि पहिलो प्राथमिकता आफ्नो क्षेत्र नै हुने भए पनि कतिपय कामहरु गर्न नसकिने रहेछ । त्यसैले सामान्य र आवश्यक एजेन्डाहरु उठाएर चुनावमा जानेछु,” उहाँले भन्नुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उहाँको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उहाँले बताउनुभयो ।
“म स्थानीयबासी हुँ । मेरो श्रीमान्ले धेरै काम गर्नुभयो र केही काम अधुरा छन् । त्यो पूरा गर्न मसँग स्पष्ट भिजन छ । उहाँ (नवीन्द्रराज जोशी)ले अचानक छाडेर जानुभयो । अघि सारेका धेरै योजनाहरु अधुरै छन् । त्यसको साक्षी म आफैँ छु । ती सबै कामहरु पूरा गर्न सक्छुजस्तो लाग्छ,” उहाँले दृढता व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाको संस्कार र संस्कृतिलाई जोगाउनका लागि पनि आफूले अभियान चलाउने बताउनुभयो । –नेपाल न्युज बैङ्क