खाँदबारी, १५ माघ । आगामी फागुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) सङ्खुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ ।
पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्ग बहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
१० स्थानीय तह रहेको सङ्खुवासभामा एमालेले ठुला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
यी कमिटीमार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा.अर्जुन कुमार कार्कीलाई जिताउन वडा, टोल र बस्तीस्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिने जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले बताउनुभयो ।
पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ । अध्यक्ष राईले माघ १५ गतेदेखि फागुन २ गते सम्मको प्रचारतालिका समेत सार्वजनिक गर्नुभएको छ ।
को हुन् अर्जुन कार्की
‘समृद्ध नेपाल सुखी नेपाली समुन्नत सङ्खुवासभा मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ निर्वाचनमा होमिनुभएका डा.कार्की अमेरिकाका लागि नेपालका पूर्वराजदूत हुनुहुन्छ ।
अल्पविकसित मुलुकहरुको अधिकारका लागि कार्यरत गैरसरकारी संस्थाहरुको सञ्जाल एलडिसी वाचको अन्तर्राष्ट्रिय संयोजक भएर पनि काम गरिसक्नुभएका कार्कीले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल जस्ता अल्पविकसित मुलुकहरुको पक्षमा पैरवी गर्दै आउनुभएको छ ।
नेपालमा मानव अधिकार तथा सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएकाका कार्की प्रत्यक्ष राजनीतिमा संलग्न भएको भने यो पहिलो पटक हो ।