- सन्तोषी रावल
काठमाडौँ, १५ माघ । नेकपा (एमाले)ले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।
नेकपा एमालेका स्वयंसेवक (भोलिन्टियर) केन्द्रीय सदस्य कृष्ण सागर ओलीले युवाप्रति पार्टीको विश्वास स्पष्ट देखिने गरी बढेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो महाधिवेशनमा युवा वर्गलाई नेतृत्व तहमा ल्याउन विशेष प्राथमिकता दिइएको थियो । केन्द्रीय कमिटीमै पनि युवाको संख्या अन्य दलको तुलनामा बढिरहेको उहाँले दाबी गर्नुभयो ।
उहाँका अनुसार एमालेले युवालाई केवल समर्थक वा कार्यकर्ता मात्र नभइ नीति निर्माण र संगठन विस्तारको जिम्मेवारीमा पनि संलग्न गराउँदै आएको छ । स्वयंसेवक संरचनामार्फत युवाको सक्रियता बढाइएको र पार्टीका कार्यक्रम तथा अभियानमा युवाले निर्णायक भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।
जेनजी आन्दोलनबारे टिप्पणी गर्दै ओलीले पार्टीले त्यसलाई सामान्य पुस्तागत आन्दोलनका रूपमा नलिएको बताउनुभयो । उहाँका अनुसार उक्त आन्दोलनलाई राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपको सन्दर्भमा मूल्यांकन गरिएको छ । यद्यपि, आन्दोलनपछि युवाको भूमिका र महत्त्वलाई अझ गम्भीर रूपमा लिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उहाँले उल्लेख गर्नुभयो ।
पार्टीभित्रको आन्तरिक अवस्थाबारे बोल्दै ओलीले महाधिवेशनपछि एमाले एकताबद्ध रहेको दाबी गर्नुभयो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सबै पक्षलाई समेटेर अगाडि बढाइएको बताउँदै, कसैलाई अवसर नदिइएको भन्ने आरोपलाई उहाँले अस्वीकार गर्नुभयो ।
देशको आर्थिक अवस्था र युवाको रोजगारीबारे उहाँले समस्या दीर्घकालीन रहेको बताउनुभयो । तत्काल समाधान सम्भव नभए पनि उद्योग, पूर्वाधार विकास र सीपमूलक कार्यक्रममार्फत युवालाई देशमै रोजगारी सिर्जना गर्ने नीति एमालेको रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीतर्फ जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य पार्टीको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
हालको राजनीतिक अवस्था सन्दर्भमा ओलीले संविधानिक प्रक्रिया र संसद्को स्थायित्व आवश्यक रहेको बताउनुभयो । राजनीतिक अस्थिरताले देशलाई थप आर्थिक र सामाजिक जोखिममा पार्ने भन्दै अनुभवी नेतृत्व, स्थिर सरकार र युवाको सक्रिय सहभागिताबाट मात्र देश अगाडि बढ्न सक्ने उहाँले दाबी गर्नुभयो । –नेपाल न्युज बैङ्क