टाइगर कप भलिबल : न्यु डायमण्ड र पुलिस फाइनलमा

16

कास्की, १४ माघ । पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

महिलातर्फ न्यु डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यु डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यु डायमण्ड अपराजित रहँदै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

थाइल्याण्ड पराजित भएसँगै चार खेलबाट सात अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले चार खेलबाट ६ अङ्क प्राप्त गर्‍यो । अब महिलातर्फको उपाधिका लागि न्यु डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् ।

तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि बिहीबार र फाइनल खेल माघ १७ गते हुने छ । प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी छन् । ‘सिङ्गल राउण्ड रोविन’का आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन हुने टोलीले समान नगद ६ लाख ६६ हजार ६६६ रूपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले नगद तीन लाख ६६ हजार ६६६ रूपैयाँ तथा तेस्रो हुने टोलीले नगद एक लाख ६६ हजार ६६६ रूपैयाँ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिबी नेपालीले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ रूपैयाँ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६६६ रूपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...