जेनजी आन्दोलनमा घुसपैठ गराइ उत्तेजित बनाइयो : सांसद बिसी

14

काठमाडौँ, १४ माघ । नेकपा (एमाले)की सांसद सुमित्रा बिसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताउनुभयो । आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि अवस्था भने निकै फरक देखिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “वर्तमान परिस्थतिका बारेमा हामी सबै जानकार छौँ । भदौ २३ र २४ गतेको आन्दोलनलाई हामीले दुईवटा दृष्टिकोणले हेर्नुपर्छ भन्ने लाग्छ । जुन युवाहरुले माग राखेर सुशासनका निम्ति, भ्रष्टाचारका विरुद्धमा जुन खालको आवाज उठाए यो हामी सबैले उठाउँदै आएको हो । जुन आन्दोलन भयो त्यो आन्दोलन शान्तिपूर्ण हुने भन्ने थियो तर अवस्था निकै फरक भयो ।”

सांसद विसीले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गर्दै स्कुले बालबालिकाको टाउको र छातीतर्फ ताकेर गोली प्रहार गरिएको घटनाले आन्दोलनलाई उत्तेजित बनाउन खोजिएको जस्तो देखिएको बताउनुभयो ।

उहाँले घटनामा ज्यान गुमाएका बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, असह्य पीडा सहन बाध्य भएका अभिभावकहरूप्रति गहिरो समवेदना र एक्यवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यो आन्दोलनमा घुसपैठ भएर स्कुले बालबालिकाहरुको टाउको र छातिमा ताकेर जुन गोली हानियो त्यो आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरिएको जस्तो देखियो । मृत्युवरण गर्ने बालबालिकाहरुप्रति हार्दिक श्रद्धाञ्जली छ, यो असह्य पीडा सहन बाध्य भएका अभिभावकहरुप्रति मेरो समवेदना छ, एक्यवद्धता छ ।”

Share This:
सम्बन्धित खबर
Loading...