काठमाडौँ, १३ माघ । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताउनुभयो ।
सोही कारण पछिल्लो समय नेपाल सहित विश्वभर सुनचाँदीको मूल्य व्यापक रुपले बढेको उहाँले जानकारी दिनुभयो । “यो आजको मात्र होइन, सयौँ वर्षदेखि चल्दै आएको अभ्यास पनि यहि हो,” उहाँले भन्नुभयो ।
शाक्यका अनुसार सुन र चाँदीको माग अचानक बढ्दा आपूर्ति भने सीमित हुने भएकाले मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो । “सुन खानीबाट मात्र प्राप्त हुने खनिज हो । यसलाई प्रयोगशालामा उत्पादन गर्न सकिने अवस्था छैन । खानीहरू क्रमशः घट्दै गएका छन्, तर माग अत्यधिक बढेको छ । सोही कारण मूल्यवृद्धिमा सहयोग भइरहेको छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिले केवल व्यक्ति मात्र होइन, ठुला ठुला राज्यहरूले नै सुन–चाँदीलाई ‘सेफ हेभन’को रूपमा सञ्चित गर्न थालेको बताउनुभयो । “संसारका धनी कहलिएका राष्ट्रहरूलाई पनि अब आफ्नै कागजी मुद्रामा विश्वास छैन । युद्धका कारण कुनैपनि राज्य असफल हुँदा कागजी पैसा शून्य हुन्छ, तर सुन–चाँदीले मात्र आफ्नो मूल्य जोगाउँछ भन्ने इतिहासले देखाइसकेको छ,” उहाँले भन्नुभयो ।
इराक युद्धपछिको उदाहरण दिँदै उहाँले भन्नुभयो, “इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको पालामा जुन मुद्रा बलियो थियो, युद्धपछि त्यो कागज बराबर पनि रहेन । जसले सुनचाँदी राखेका थिए, उनीहरू मात्र बचे ।”
उहाँका अनुसार रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, चीन–ताइवान तनाव जस्ता घटनाले विश्वव्यापी ‘वार मेन्टालिटी’ बढाएको छ । यही कारण डलरसँग सुनको परम्परागत सम्बन्ध पनि कमजोर हुँदै गएको उहाँको विश्लेषण छ । “पहिला डलर बलियो हुँदा सुन घट्थ्यो, अहिले त्यो सम्बन्ध छैन । अहिले डलर प्यानिक छ सोही कारण डलरको मूल्य बढ्दा सुनको मूल्यपनि बढिरहेको छ,” उहाँले भन्नुभयो ।
शाक्यका अनुसार अमेरिकालगायत ठुला राष्ट्रहरू स्वयम् पनि डलरभन्दा सुनको भण्डारण बढाउँदै छन् । “रुसले युद्धपछि अर्बौँ डलर बराबरको सम्पत्ति गुमायो । यही डरका कारण चीनजस्ता देशहरूले पनि डलरभन्दा सुन–चाँदीतर्फ रिजर्भ सारिरहेका छन,” उहाँले बताउनुभयो ।
गहनाको माग घट्यो, फिजिकल गोल्डको बढ्यो
नेपालको सन्दर्भमा गहना बनाउने सुनको माग घट्दै गएको र फिजिकल गोल्ड तथा चाँदी किन्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । “बिहेमा नयाँ गहना बनाउनेभन्दा पुरानो गहना साट्ने, मर्मत गर्ने र पुनः प्रयोग गर्ने चलन बढेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार सुन–चाँदी रिसाइकल गर्न सकिने धातु भएकाले पुराना गहनाबाटै ठुलो मात्रामा कारोबार भइरहेको छ । “नयाँ गहना बनाउने माग करिब ८० प्रतिशतले घटेको छ,” उहाँले दाबी गर्नुभयो ।
शाक्यले नेपालमा नागरिकले काचो सुन किन्न नपाउने व्यवस्थालाई विडम्बनापूर्ण भएको बताउनुभयो । “२०६७ सालदेखि राष्ट्र बैङ्कले काँचो सुन किन्न प्रतिबन्ध लगाएको छ । काचो चाँदी किन्न पाइन्छ, सुन पाइँदैन,” उहाँले भन्नुभयो । सम्पत्तिको हकअनुसार सुन–चाँदी चल सम्पत्ति भएको देवानी संहिताले नै परिभाषित गरिसकेको भन्दै उहाँले यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वभर सुनचाँदीको माग उच्च भइरहेका बेला नेपालमा नीतिगत प्रतिबन्धले बजारलाई अनौपचारिकतर्फ धकेलिरहेको छ । “मानिसहरू किन्न चाहन्छन तर सहज व्यवस्था नहुँदा समस्या बढिरहेको छ,” उहाँले बताउनुभयो ।
मूल्यवृद्धिले सुनको मागमा कमी
उहाँका अनुसार हाल नेपालका सबै ७७ जिल्लामा सुनचाँदीको कारोबार भइरहेको छ । “पहिला ४०–५० जिल्लामा मात्र कारोबार सीमित थियो, तर संघीय संरचनापछि अहिले सबै जिल्लामा सुनचाँदीको व्यापार विस्तार भएको छ,” उहाँले भन्नुभयो । गत मंसिर महिनामा मात्रै नेपालभर करिब ५० देखि ५५ किलो सुनको माग रहेको शाक्यको भनाइ छ । हाल भने सिजन कमजोर हुँदा दैनिक १० देखि १५ किलोको हाराहारीमा कारोबार भइरहेको छ।
शाक्यका अनुसार अहिले स्थानीय स्तरमा धेरैले पुरानो गहना साटेर वा बेचेर आफ्नो आवश्यकताअनुसार कारोबार गरिरहेका छन् । “बिहे, पार्टी, सामाजिक संस्कारजस्ता प्रयोजनका लागि अलिअलि सुन किन्ने क्रम भने निरन्तर छ,” उहाँले भन्नुभयो ।
हाल सबै बैङ्कले सुन आयात नगरेको र १८ मध्ये दुई–तीनवटा बैङ्कमार्फत मात्र आयात भइरहेकाले आपूर्तिमा चाप परेको शाक्य बताउनुहुन्छ । “एउटा बैङ्कले ५० किलो सुनको असाइनमेन्ट ल्याउँदा पनि लामो समय पर्खिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । पछिल्लो समय ८५ देखि १२५ किलोसम्म सुन बैङ्कमै होल्ड भएर बसेको उदाहरण दिँदै उहाँले आयात प्रक्रियामा देखिएको जटिलताले बजारलाई थप दबाबमा पारेको बताउनुभयो ।
उहाँका अनुसार बैङ्कहरूले आयात गरेको सुन रिजर्भमा राख्ने र त्यसलाई व्यवसायीले बिस्तारै किनेर बजारमा आपूर्ति गर्ने अवस्था छ । “कम्तिमा आगामी तीन–चार महिना यो अवस्था यथावत् रहन सक्छ,” उहाँले अनुमान गर्नुभयो । शाक्यले युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता, इरान–इजरायल तनाव, चीन–ताइवान विवादजस्ता घटनाले सुनको मूल्यलाई थप उचाल्ने चेतावनी दिनुभयो । “यदि इरानजस्तो ठुलो देश युद्धमा तानियो भने सुन र तेल दुवै बजारमा ठुलो उथलपुथल आउन सक्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अमेरिकाले विश्वको ‘डि–फ्याक्टो’ केन्द्रीय बैङ्कको भूमिका खेलिरहेको छ । अमेरिकासँग करिब आठ हजार टन सुन भण्डारण रहेको र उसले चाहेमा बजार हस्तक्षेप गरेर मूल्य घटाउन सक्ने भए पनि हालसम्म त्यसो नदेखिएको उहाँको विश्लेषण छ । आगामी दिनमा सुनको मूल्य अझै बढ्ने ६० प्रतिशत सम्भावना रहेको र अझै ४० प्रतिशत सम्भावना करेक्सन अर्थात् घट्नसक्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
चाँदीको माग तीव्र
सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँभन्दा माथि पुगेपछि चाँदीको मागमा तीव्र वृद्धि देखिएको शाक्यले बताउनुभयो । पछिल्लो समय चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण औद्योगिक क्षेत्रमा यसको माग अस्वाभाविक रूपमा बढ्नु उहाँले बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदी अब केवल गहना, भाँडाकुँडा वा धार्मिक प्रयोजनमा सीमित नरही सोलार प्यानल, डाटा सेन्टर, एक्स–रे मेसिन, क्यामेरा, इलेक्ट्रोनिक्सलगायत उच्च प्रविधिका उद्योगमा अत्यधिक प्रयोग हुन थालेपछि यसको माग विश्व बजारमै चुलिएको हो ।
चीनमा चाँदीको आपूर्ति सीमित हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग झनै बढेको उहाँले बताउनुभयो । “चाँदीको मूल्य ८० प्रतिशतसम्म बढ्ने र २० प्रतिशत करेक्सन हुने सम्भावना देख्छु,” उहाँले भन्नुभयो । पछिल्लो एक वर्षमा मात्रै चाँदीको मूल्य करिब १०० प्रतिशतले बढिसकेको उहाँको दाबी छ ।
शाक्यका अनुसार विगतमा चाँदी मुख्यतः हस्तकला तथा परम्परागत उपयोगमा सीमित थियो । “पहिला चाँदी भनेको हस्तकलाजन्य कच्चा पदार्थ थियो, भाँडाकुँडा, मूर्ति, धार्मिक सामग्री, कलात्मक सामग्री बनाउने कारिगरहरूले प्रयोग गर्थे,” उहाँले भन्नुभयो, “धनाढ्य वर्गमा आज पनि चाँदीका थाल, गिलास, भाँडाकुँडाको प्रयोग चलनमै छ ।”
नेपालमा लगानी विकल्पको संकट
शाक्यका अनुसार नेपालमा सुरक्षित लगानीका विकल्प सीमित हुँदा सुन–चाँदी ‘सेफ हेभन’ बनेको छ । “पछिल्लो समय घरजग्गा, मुद्दति निक्षेप, सहकारी सबै जसो लगानीमा खासै उत्साह नभएको देखिन्छ । सुन–चाँदीमा भने दैनिक मूल्य बढ्ने भएकाले आकर्षण बढेको छ,” उहाँले भन्नुभयो ।
नेपालमा सुन र चाँदीको खानी नहुँदा सम्पूर्ण आपूर्ति आयातमै निर्भर रहेको र दुबई, इटाली तथा स्वीट्जरल्यान्डबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “हाम्रो संस्कृतिमा पनि सुन–चाँदीको ठुलो महत्त्व छ । धार्मिक, सांस्कृतिक र सामाजिक कारणले पनि यसको माग निरन्तर रहन्छ,” उहाँले भन्नुभयो । युद्धको आशंका, राज्यहरूद्वारा सुन–चाँदी भण्डारण र लगानी विकल्पको अभाव कायम रहेसम्म सुनचाँदीको मूल्य उच्च नै रहने संकेत देखिएको शाक्यको दाबी छ । –नेपाल न्युज बैङ्क