- आकाङ्क्षा धामी
काठमाडौँ, १३ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ बाट सो पार्टीका तर्फबाट धनराज शाही उम्मेदवार बन्नुभएको छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा शाहीले संसदीय चुनावमा सहभागितालाई वैचारिक विरोधाभास नभइ संघर्षको नयाँ थलोका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार पछिल्लो चरणको जनआन्दोलनले संसदीय प्रणालीलाई नै ‘भत्काइसकेको’ छ र अहिले संसद जनसंघर्ष र वैचारिक बहसको मञ्च बनेको छ । ‘त्यहीँ कारण हामी चुनावी प्रक्रियामा आएका हौँ,’ उहाँले भन्नुभयो ।
काठमाडौँ–१ बाट उम्मेदवारी दिनुभएका शाहीले आफ्नो चुनावी एजेन्डा निकै बृहत रहेको बताउनुभयो । उहाँका प्रमुख अजेन्डामा संविधानको पुनःलेखन, राज्यको पुनःसंरचना, राष्ट्रिय स्वाधीनताको रक्षा, एकीकृत उत्पादन प्रणाली, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने, युवालाई रोजगारीको सुनिश्चितता तथा भूमिलाई राज्यको पूर्ण नियन्त्रणमा लैजाने नीति रहेका छन् ।
उहाँले भन्नुभयो, “हामी चुनाव लड्दै छौँ । हाम्रो अजेन्डा भनेको संविधानको पुनःलेखन, राज्यको पुनःसंरचना, राज्यको स्वाधीनताको रक्षा, एकीकृत उत्पादन प्रणाली, शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गराउने, युवाहरुलाई रोजगारी, राज्यको जग्गालाई राज्यकै नियन्त्रणमा राख्ने हाम्रो अजेन्डाहरु हुन् ।”
जन्मथलो कर्णालीको कालिकोट भए पनि काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै शाहीले आफू पार्टीको आवश्यकता अनुसार खटिने ‘कम्युनिस्ट सिपाही’ भएको बताउनुभयो ।
लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाउनुभएका उहाँ काठमाडौँ महानगरपालिका तथा काठमाडौँ जिल्लाको इन्चार्जका रूपमा काम गरिसक्नुभएको छ ।
“कर्णालीको मान्छे, काठमाडौँ क्षेत्र नम्बर एक रोज्नुको कारण कम्युनिस्ट पार्टीका सिपाही भएकाले हो । पार्टीको आवश्यकता अनुसार जहाँ खटायो त्यहीँ लड्नुपर्छ भन्ने हो,” उहाँले भन्नुभयो, “लामो समयदेखि कर्मथलो काठमाडौँलाई नै बनाए । काठमाडौँ महानगरपालिका त्यसपछि काठमाडौँ जिल्लाको इन्चार्ज भएर काम गरेको हुनाले पार्टीले अहिले अवसर दिएको हो ।”
माओवादी आन्दोलनको इतिहास बोकेको दलबाट उम्मेदवार बन्नु चुनौती कि अवसर भन्ने प्रश्नमा शाहीले दुवै पक्ष रहेको बताउनुभयो । उहाँका अनुसार नेपाली कम्युनिस्ट आन्दोलन अहिले विलयको चरणतिर पुगेको छ, जुन चुनौतीपूर्ण अवस्था हो । तर, पार्टीको नीति तथा कार्यक्रमप्रति जनसमर्थन बढ्दै गएको देखिएकाले यसलाई अवसरका रूपमा लिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “एउटा ऐतिहासिक परिवर्तन बोकेको पार्टी हो । नेपालको कम्युनिस्ट आन्दोलन या माओवादी आन्दोलन विलयतिर जाँदैछ । यो चुनौतीको कुरा हो । अर्को अवसरको हामीले लिएको नीति र कार्यक्रमप्रति जनता गोलबन्द हुँदैछन्। यसलाई एउटा अवसरको रुपमा लिनुपर्छ ।”
संसदीय राजनीतिबारे मूल्याङ्कन गर्दै शाहीले कांग्रेस, एमालेदेखि हालका सत्तारूढ दलहरू पनि संघर्षकै मैदानबाट आएको स्मरण गराउनुभयो । उहाँका अनुसार संसद्लाई समाजवादतर्फ जाने संघर्षको थलोका रूपमा प्रयोग गर्न सकिन्छ र अधुरा क्रान्तिकारी अजेन्डा पूरा गर्ने माध्यम बनाउन सकिन्छ ।
चुनावी सम्भावनाबारे आत्मविश्वासी देखिएका शाहीले पार्टीको जित्ने सम्भावना राम्रो रहेको दाबी गर्नुभयो । आत्मनिर्भर राष्ट्र र अर्थतन्त्र निर्माण गर्ने अजेन्डाले जनताको मन जितिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हाम्रो जित्ने चान्स राम्रो छ । किनभने हाम्रो पार्टीको नीति तथा कार्यक्रमहरु जनतालाई मन परेको छ । जस्तै आत्मनिर्भर देश, आत्मनिर्भर अर्थतन्त्र पार्टीको अजेन्डा हुन् । देशको नागरिकलाई स्वाभिमानी र आत्मनिर्भर बनाउने, नागरिक र देशलाई अगाडि बढाउनुपर्ने भएकाले जित्ने राम्रै सम्भावना छ ।”
काठमाडौँ–१ मा ‘टुरिस्ट उम्मेदवार’ भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै शाहीले आफू पर्यटक नभइ लामो समयदेखि काठमाडौँमै जनसेवा गर्दै आएको बताए । “जन्मथलो कर्णाली भएपनि कर्मथलो काठमाडौँ हो । जहाँ बसेर पनि जनताको सेवा गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
देशको पछिल्लो राजनीतिक अवस्थालाई शाहीले गम्भीर संकटको रूपमा चित्रण गर्नुभयो । उहाँका अनुसार नेपाल अर्ध–उपनिवेशको अवस्थातिर धकेलिँदै छ र साम्राज्यवादी शक्तिहरूको डिजाइन खतरनाक बन्दै गएको छ ।
“नेपालको आकाशमा कालो बादल मडारिरहेको छ । नेपालका जनताले साम्राज्यवादीको डिजाइन बुझ्न सकेनन् । देश भयंकर खतरामा जान्छ होला जस्तो लाग्छ । पार्टीको नीति र कार्यक्रमलाई जनताले माया गरेनन् भने देश बम र बारुदसँग खेल्न तयार हुनुपर्छ । अहिले देश अर्ध उपनिवेश देश भयो । त्यो साम्राज्यवादीको डिजाइन छ,” उहाँले भन्नुभयो ।
जनताले डिजाइन नबुझे देश ठुलो संकटतर्फ जाने उहाँले चेतावनी दिनुभयो । आत्मनिर्भर उत्पादन प्रणाली र स्वदेशमै उत्पादन–उपभोग गर्ने नीति अहिलेको आवश्यकता भएको उहाँको धारणा छ ।
युवा पुस्ताको भूमिकाबारे बोल्दै शाहीले राजनीतिमा युवाको नेतृत्व अनिवार्य रहेको बताउनुभयो । देशको स्वाधीनताको रक्षाका लागि युवाहरू राजनीतिक रूपमा सचेत भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । साथै पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’ लाई पार्टीले सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो ।
“जेनजी आन्दोलनलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको छ । हामीले जुन अजेन्डा उठायौँ, त्यहीँ अजेन्डा बोकेर जेनजी आन्दोलन अगाडि बढेको छ । देशको स्वाधीनताको रक्षाका लागि युवाहरू राजनीतिक रूपमा सचेत भएर अघि बढ्नुपर्छ ।”
कुराकानीमा शाहीले काठमाडौँ–१ का मतदातालाई विशेष अपिल गर्नुभयो । देशको ‘मुटु’ मानिने राजधानीका नागरिक सचेत र जिम्मेवार भएको उल्लेख गर्दै उहाँले पार्टीको नीति, विचार र कार्यक्रम हेरेर गुलाब चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । –नेपाल न्युज बैङ्क