काठमाडौँ ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानु बास्तोला [भिडिओ]

11

काठमाडौँ, ९ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ९ मा नेपाली काङ्ग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानु बास्तोलाले आफू सधैँ जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले सत्तामा भए या नभए पनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सधैँ सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दाबी गर्नुभयो ।

“म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन । फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,” उहाँले अगाडि भन्नुभयो, “म राजनीतिमा परिपक्व युवा हुँ । सधैँ जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ ।”

आफूले जनताका आवाज लिएर हिँडिरहेको र सानाभन्दा साना समस्याहरुको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उहाँको भनाइ थियो ।

“जनताले खोजेको भनेको समृद्धि र विकास हो । म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु । मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सधैँ खुला छ । म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन,” उहाँले अगाडि भन्नुभयो, “जनताले यतिबेला खोजेको सुशासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो । त्यसका लागि म अब्बल उम्मेदवार हुँ ।”

आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उहाँको भनाइ थियो । “मेरो क्षेत्रमा काठमाडौँ महानगरको चारवटा वडा, चन्द्रागिरीको पाँचवटा र नागार्जुनका पाँचवटा गरी १४ वटा वडाहरु पर्ने भएकाले न्युरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुङ्गाका मतदाताको भावना र विकासको अपेक्षा फरक फरक भएकाले सोही अनुसार काम गर्नु पर्नेछ । त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,” उहाँले भन्नुभयो, “यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ ।”

राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न संघसंस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...