चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

11

काठमाडौँ, ६ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रनुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ र सोही पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने हुनुभएको छ ।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक दाहाललाई सहयोग गर्नुभएको थियो ।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आउनुभएका नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार हुनुभएन । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उहाँ यसपटक चुनावी मैदानबाट बाहिरिनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...