- राजु सिलवाल
काठमाडौँ, ४ माघ । विश्वका क्रिकेटप्रेमी दर्शकहरुमाझ फेरि एकपटक नेपालको छवि जाज्वल्यमान हुने अवसर आएको छ । नेपाली तथा विश्वका क्रिकेट मन पराउने दर्शकहरुले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको समाप्तिसँगै नेपालमा पहिलो पटक आयोजित महिलाहरुको विश्वकप छनोटका लागि ‘टी–२० विश्वकप ग्लोबल क्वालिफायर्स’मा विभिन्न मुलुकका खेलाडीहरुको बलिङ, ब्याटिङ, फिल्डिङ क्षमता देख्न पाउने छन् । टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत देखिने नेपालको प्राकृतिक सौन्दर्यले नेपालको पहिचान अझ बढाउने अपेक्षा गरिएको छ ।
नेपालमा खेलिने खेलहरुमा क्रिकेटले मुलुकलाई छोटै अवधिमा विश्वव्यापी रुपमा पहिचान दिलाउन सफल भएको हो । नेपाली पुरुष क्रिकेट टिम अब केही सातामा तेस्रो पटक ‘टी–२०’ विश्वकपमा प्रतिस्पर्धाका लागि अन्तिम तयारी गर्न श्रीलङ्का र भारततर्फ जाँदैछ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पनि यसपालि पहिलोपटक काठमाडौँमा ‘टी–२०’ विश्वकप प्रवेशका लागि छनोट प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्दैछ ।
महिला क्रिकेट टोली थाइल्याण्डको बैंककमा गत सन् २०२५ को मे महिनामा भएको एसियाली छनोटमार्फत शिर्ष दुईमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो । त्यतिखेर उपविजेता बनेको नेपालले संयुक्त अरब इमिरेटस्लाई पराजित गर्दै विश्वव्यापी छनोटमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
नेपालमा पहिलोपटक आज माघ ४ गतेदेखि माघ १८ गतेसम्म इण्टरनेशनल क्रिकेट काउन्सिल आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागीहरुबीच तीव्र प्रतिस्पर्धा हुँदै छ । महिला क्रिकेटको विश्वव्यापी छनोट अर्थात् ग्लोबल क्वालिफायर्समा कुल १० वटा मुलुकको सहभागिता रहेको छ । सहभागी टिमहरुलाई दुई वटा समूहमा विभाजन गरिएअनुसार समूह ‘क’ मा बङ्गलादेश, आयरल्यान्ड, पप्पुआन्युगिनी, नामिबिया र अमेरिका छन् । यस्तै समूह ‘ख’ मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाबे, नेदरल्याण्डस र नेपाल रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ‘टी–२०’ क्रिकेटको विश्व वरियता क्रममा ११औँ स्थानमा रहेको स्कटल्याण्ड, १२औँ स्थानमा रहेको थाइल्याण्ड, १५औँ स्थानमा रहेको जिम्बाबे र १४औँ स्थानमा रहेको नेदरल्याण्डस्सँग २१औँ स्थानमा रहेको नेपाललाई प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण नै हुने देखिएको छ । काठमाडौँमा आयोजित छनोट खेलका चार वटा शिर्ष टोली आगामी जुनमा इङ्गल्याण्ड र वेल्समा हुने आइसिसी महिला ‘टी–२०’ विश्वकपका लागि छनोट हुनेछन् ।
थाइल्याण्डका पूर्वमुख्य प्रशिक्षक हर्षलजयन्त पाठकको प्रशिक्षणमा रहेको नेपालले पहिलो दिनको उद्घाटन खेलमा थाइल्याण्डसँग खेल्दै छ । नेपाली महिला क्रिकेटरहरुले यस प्रतियोगिताका सिलसिलामा विभिन्न अनुभवी टिमसँग खेल्ने अवसर पाउनु महत्त्वपूर्ण मानिएको छ । क्रिकेट खेलप्रति नेपाली दर्शकहरुको अत्यधिक अभिरुचिलाई दृष्टिगत गरी उक्त प्रतियोगितामा नेपालले खेल्ने सबै खेलमा धेरै दर्शक उपस्थित हुने आँकलन गरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन गरिने भएको छ । प्रतियोगिताका केही खेल मूलपानी क्रिकेट मैदानमा पनि हुनेछ ।
अनुभवी प्रशिक्षक
नेपाल क्रिकेट सङ्घ क्यानले सन् २०२० को आइसिसी ‘टी–२०’ महिला विश्वकपमा थाइल्याण्डलाई प्रवेश गराउन सफल भारतीय प्रशिक्षक हर्षलजयन्त पाठकलाई खुला प्रतिस्पर्धाका आधारमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा गत महिना मात्र नियुक्त गरेको थियो । त्यतिखेर विभिन्न मुलुकका ७० जनाभन्दा बढी प्रशिक्षकले दरखास्त दिएका थिए । मुख्य प्रशिक्षक पाठकले थाइल्याण्डको पुरुष राष्ट्रिय क्रिकेट टिमको पनि मुख्य प्रशिक्षकको जिम्मेवारी निभाइसक्नुभएको छ । सन् २०२२ मा एसिया कपमा थाइल्याण्डले पाकिस्तानलाई सेमीफाइनलमा पराजित गर्दा मुख्य प्रशिक्षक रहनुभएका पाठकले भारतमा विभिन्न उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो । भारतकी प्रख्यात महिला क्रिकेटर हरमनप्रित कौरको व्यक्तिगत ब्याटिङ प्रशिक्षकका रुपमा पनि पाठकले कार्य गर्नुभएको थियो । नेपाली महिला क्रिकेटमा पाठक पहिलो पूर्णकालीन विदेशी मुख्य प्रशिक्षक बन्नुभएको छ ।
कीर्तिमानी नेतृत्व
नेपाली महिला क्रिकेट टोलीकी अलराउण्डर इन्दु वर्माको नेतृत्वमा १५ सदस्यीय नेपाली टिम विश्वकप छनोट प्रतिस्पर्धामा सहभागी हुँदै छ । सन् २०२३ मा महिला राष्ट्रिय टिममा १२ वर्ष कप्तान रहिसकेकी रुविना क्षेत्रीलाई बदलेर इन्दु वर्मालाई कप्तान बनाइएको थियो । सन् २०१९ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी इन्दुले एक हजार रन कटाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकिछिन् । उनी नेपाली राष्ट्रिय महिला टिममा सबैभन्दा बढी रन बनाउने ब्याटस्म्यान पनि हुन् । सन् २०१० मा सिङ्गापुरमा सम्पन्न एसिसी यू–१९ क्रिकेट प्रतियोगितादेखि उनी अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आइरहेकी छिन् । उनको कुशल नेतृत्वमा नेपाली टिमले यसपालिको विश्वव्यापी छनोट प्रतिस्पर्धामा सशक्त उपस्थिति देखाउने अपेक्षा गरिएको छ ।
नेपाल छनोट भएको खेल
आइसिसी महिला टी–२० विश्वकपअन्तर्गतको एसिया छनोटअन्तर्गतको ‘सुपर थ्री’ चरणको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भए पनि पहिलोपटक ग्लोबल छनोट भएको थियो । सो खेलमा नेपालले ९ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो तर नेपाल र थाइल्याण्ड दुवै आगामी प्रतियोगिताका लागि छनोट हुन पुगे । नेपाल र थाइल्याण्ड दुवै टिमले अघिल्ला खेलमा युएईलाई पराजित गरी ग्लोबल क्वालिफायर्समा आफ्नो स्थान सुरक्षित राख्न सफल भएका थिए । नेपालले युएईलाई ५ विकेटले हराएको थियो । सो खेलमा कप्तान इन्दु वर्माको अविजित ३० रनको योगदान महत्वपूर्ण रहेको थियो ।
ताजा उपाधि
नेपाली महिला क्रिकेट टोलीले केही समयअघि ‘टी–२०’ अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियालाई उनीहरुकै घरेलु मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको थियो । क्वालालम्पुरमा भएको उक्त प्रतियोगितामा सञ्चालन गरिएको पाँच खेलमध्ये नेपालले तीन खेल जितेर उपाधि आफ्नो कब्जामा लिन सफल भएको थियो । पाँचौँ तथा अन्तिम खेलमा नेपालले मलेशियालाई पाँच विकेटले पराजित गरेर शृङ्खला ३–२ ले जितेको थियो ।
महिला क्रिकेटको इतिहास
नेपालमा सन् २००० मै महिला क्रिकेटको सुरुवात भएको थियो । क्यानले सन् २००५ मा पहिलो महिला घरेलु क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । यसअन्तर्गत स्कूल तथा क्षेत्रीय तहका प्रतियोगिता सञ्चालन गरिएको थियो । क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको निर्माण सन् २००७ मा गरेर अन्तरराष्ट्रिय सहभागिता प्रारम्भ गरेको थियो ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ । क्यानका अनुसार महिला टोलीले सन् २००७ को जुलाईमा एसिसी महिला क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रिय डेब्यु गरेर अहिले विश्व ‘टी–२० इन्टरनेसनल’को विश्व वरियता क्रममा २१औँ स्थानमा पुगिसकेको छ । नेपाली महिला टिमले सन् २०१९ को जनवरीमा चीनविरुद्ध पहिलो ‘टी–२०’ खेल खेलेको थियो । नेपालको महिला टोली सन् २०१६ को महिला एशिया कपको संस्करणका लागि पनि छनोट भएको थियो । यसअघि नेपाली महिला टोलीले सन् २०१२ मै पहिलोपटक महिला ‘टी–२०’ एसिया कपमा भाग लिएको थियो ।
व्यक्तिगत प्रदर्शन
नेपाली महिला क्रिकेटरहरुले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेर आफ्नो व्यक्तिगत परिचयसमेत बनाउन सफल भएका छन् । नेपाली क्रिकेटर रुविना क्षेत्रीले सन् २००९ मा सम्पन्न एसिसी महिला ‘टी–२०’ क्रिकेटमा सिङ्गापुरविरुद्धको खेलमा अन्तिम ओभरको पाँच बलमा पाँच विकेट लिन सफल भएकी थिइन् । रुविनाले सन् २०२४ को एसिसी महिला ‘टी–२० प्रिमियर कप’मा नेपालकोतर्फबाट माल्दिभ्ससँगको खेलमा पहिलो शतक बनाएकी थिइन् ।
जुनियर महिला टोली
नेपाल महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिँदै आइरहेको छ । नेपालको जुनियर महिला टोलीले आइसिसी महिला यू–१९ विश्वकप एसियाली छनोट सन् २०२२ मा तेस्रो स्थान हासिल गरेको थियो । नेपालले सन् २०२७ मा आइसिसी यू–१९ महिला विश्वकप आयोजना गर्ने तयारी गरेको छ ।
उक्त आयोजना महिला क्रिकेटको विकासका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।
अन्त्यमा, महिला विश्वकपका लागि छनोट प्रतिस्पर्धा जस्तो महत्त्वपूर्ण प्रतियोगिता आयोजना गरेर नेपालले फेरि आफ्नो भूमि क्रिकेटका लागि उपयुक्त गन्तव्य भएको प्रमाणित गर्दैछ । यति ठुलो प्रतियोगिता आयोजना गर्ने अवसर पाउनु क्यानका लागि क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसर पनि हो । नेपाली महिला टिमले भने यही प्रतियोगिताका सिलसिलामा आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर पाएका छन् । नेपालले महिला क्रिकेटमा छोटै समयमा हासिल गरेको यस उपलब्धिले आगामी दिनमा महिला क्रिकेटको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न जाने देखिएको छ । नेपाली महिला राष्ट्रिय टिमका लागि यसपटक कठिन टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले मैदानमा चुनौती त्यति सहज हुने देखिँदैन तर नेपाली टिमले प्राप्त गरेको महत्त्वपूर्ण अवसर भनेको घरेलु मैदान हो । आफ्नै गृह मैदानमा उच्चस्तरीय प्रतियोगिता खेल्ने मौका पाउनु सामान्य अवस्था होइन । नेपाली महिला टिमले हालसम्म विभिन्न अन्तरराष्ट्रिय प्रतिस्पर्धामा हासिल गरेका अनुभव तथा घरेलु दर्शकहरुको अपार समर्थन तथा साथले नेपाली चेलीहरुलाई उत्कृष्ट खेल प्रदर्शनका लगि पक्कै पनि उत्साहित बनाउने कुरामा विश्वस्त हुन सकिन्छ । –रासस