कारबाहीबारे गगन थापाको प्रतिक्रिया– तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ?

19

काठमाडौँ, ३० पुस । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै ‘तपाईंको प्राइभेट कम्पनी हो निकाल्न’ भन्दै प्रश्न गर्नुभएको छ ।

बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उहाँले बाहिर जे जस्तो निर्णय भए पनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिर जे जस्तो निर्णय भए पनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ । मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होइन, जा भनेर जानलाई ।”

त्यस्तै, उहाँले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताउनुभयो । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उहाँले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौँ ।”

उहाँले कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टीकरण नसोधिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

“म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन ? निजी कम्पनीमा समेत सोधिन्छ,” उहाँले भन्नुभयो ।

उहाँले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्रीको उम्मेदवार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उहाँले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जान नैतिकताले नदिने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...