आजदेखि अर्घाखाँची महोत्सव

15

अर्घाखाँची, २७ पुस । अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरू भएको छ ।

अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवको आज भव्य कार्यक्रम, पञ्चेबाजा र विभिन्न झाँकीसहित सुरु भएको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री दिनेश पन्थीले मेला महोत्सवले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने बताउनुभयो । स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री–वितरणमा महोत्सवबाट मदत पुग्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्थतन्त्र सुधारमा मेला महोत्सवको भूमिका रहेको बताउनुभयो । उहाँले मेलामा सहभागी भएर सस्तो मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा लिएर उपयोग गर्न पनि अर्घाखाँचीवासीलाई अनुरोध गर्नुभयो ।

महोत्सवको उद्घाटनमा स्थानीय लोकभजन, लाखेनाच, पञ्चेबाजा सहितका स्थानीय विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न सके अर्घाखाँचीमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले अर्घाखाँचीको स्थानीय उत्पादनको बिक्री–वितरण र पर्यटकीयस्थलको प्रचारप्रसारमा महोत्सवले भूमिका खेल्ने बताउँदै अर्घाखाँची चुनढुङ्गाको पनि राम्रो सम्भावना भएको जिल्ला भएको बताउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...