देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्

13

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाउनुभएको छ । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाउनुभयो ।

टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उहाँले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गर्नुभयो ।

शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “टेलिभिजन या फेसबुकमा लाइभ हेर्दै हुनुहुन्छ होला, हामी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिमा ज–जसले साथीहरुको मासुम अनुहारहरुको अवमूल्यन गर्नुभयो । उहाँहरुलाई हामी यहाँबाट प्रश्न सोध्न चाहन्छौँ पूर्वदेखि पश्चिमसम्म र दार्चुलादेखि ताप्लेजुङसम्म आएका क्रियाशीलदेखि देखी केन्द्रीय नेताहरु र महामन्त्रीद्वयहरुको यो मासुम अनुहारले तपाईंहरुलाई गिज्याइरहेको छ कि छैन ? हामी बुद्धका सन्तान हौँ । हामी मारकाटमा विश्वास गर्दैनौँ, हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, हाम्रो सिद्धान्त, नीति, विचार मध्यमार्गी बाटो हो।”

सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उहाँको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गर्नुभयो । देउवालाई ‘पिता समान नेता’ भन्दै उहाँले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताउनुभयो ।

उहाँले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताउनुभयो । “तपाईंलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ता हिजो जसले तपाईंलाई भोट हाल्यो, हिजो जसले तपाईंलाई सभापति बनायो र पटक पटक जसले सत्तामा पुर्‍यायो, अब त्यो रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुस् । पहिलो विकल्प तपाईं आफैँ चुनावमा उठ्नुहोस्, जसले हारे पनि लोकतन्त्र र प्रजातन्त्रले जित्छ,” शर्माले भन्नुभयो ।

चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पुर्‍याउने पार्टी संस्कार रहेको उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...