काठमाडौँ, २६ पुस । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी आन्दोलनले क्षतिग्रस्त भएका सडक पूर्वाधारहरू अझै पूर्णरुपमा निर्माण नहुँदा पनि ट्राफिक प्रहरी उच्च मनोबलसाथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको बताउनुभएको छ ।
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सडक पूर्वाधारहरु निर्माण हुन नसेको बताउनुभएको हो ।
“आन्दोलनको क्रममा क्षतिग्रस्त भएका रोड, फर्निचर, सचेतना बोर्ड, ट्राफिक सिग्नल, ट्राफिक लाइटहरु, सिसी क्यामेराहरु जस्ता सडक पूर्वाधारहरु पूर्णरुपमा स्थापना हुन बाँकी नै छन् । त्यसका बाबजुत पनि ट्राफिक प्रहरीहरुले उच्च मनोबलका साथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको व्यहोरा निवेदन गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिनानुदिन बढ्दो सवारी चाप, जाम नियन्त्रण गर्न एकिकृत बसपार्क प्रणाली कार्यान्वयन गर्दै काम गरिरहेको पनि जानकारी दिनुभयो । साथै, उहाँले चोरी भएका सवारी साधन फेला पारेर सम्बन्धित धनीहरुलाई हस्तान्तण गर्ने काम निरन्तर भइरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “दिनानुदिन बढ्दो सवारी चाप, जाम नियन्त्रण गर्न एकिकृत बसपार्क प्रणाली कार्यान्वयन गर्दै अनावश्यक फुटप्रविण खारेज गरेपछि सम्बन्धित क्षेत्रहरुको सवारी जाँच उल्लेख्यरुपमा घटेको छ । त्यसैगरी मोटरसाइकल चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीहरु परिचालन गरी चोरी भएका सवारी साधन फेला पारेर सम्बन्धित धनिहरुलाई हस्तान्रण गर्ने काम निरन्तर चलिरहेको छ ।”
अधिकारीले धुँवा, धुलो र ध्वनीको उच्च जोखिममा पनि ट्राफिक प्रहरीको मानसिक, शारीरिक स्वास्थ्यका लागि विभिन्न अभियान सञ्चालन गरेको बताउनुभयो । जेनजी आन्दोलनपछि उपत्यकामा ध्वनी आतंक सिर्जना गर्ने, मोडिफाइ बाइकहरुलाई नियन्त्रणमा लिइ सडक अनुशासनलाई लयमा फर्काउन ट्राफिक प्रहरी सफल भइसकेको पनि उहाँले दाबी गर्नुभयो ।
यस्तै, उक्त कार्यक्रममा बोल्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरी सवारी व्यवस्थापन एवम् सडक दुर्घटना न्यूनीकरणका लागि समन्वय भइरहेको बताउनुभयो ।
“काठमाडौँ महानगर र ट्राफिक प्रहरी निकै नजिक रहेर काम गरिरहेका छौँ । काठमाडौँ महानगरपालिकाले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणलाई एकदमै संवेदनशील विषयका रुपमा लिएका छौँ । त्यसकारण पनि हामीले ट्राफिक प्रहरीसँग समन्वयकारी भूमिकाहरु गर्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
आज ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौँ, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको छ । ‘ट्राफिक नियम पालना गरौँ, दुर्घटनाबाट बचौँ र बचाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।