निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस् : सशस्त्र प्रहरी प्रवक्ता थापा

18

काठमाडौँ, २६ पुस । यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ । उक्त तयारीका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापासँग राष्ट्रिय समाचार समिति (रासस)का प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः

मुलुक निर्वाचनको सम्मुखमा छ, सशस्त्र प्रहरी बलको बुझाइमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुद छ । प्रमुख सुरक्षा सङ्गठनको हैसियतमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकायसँग समन्वयका साथ कार्य गर्दै आइरहेको छ । मुलुक निर्वाचनमय भइसकेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सिङ्गो सङ्गठन क्रियाशील भइसकेको छ । निर्वाचन प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी ‘हेडक्वार्टर’, बाहिनी र जिल्लास्तरमा निर्वाचन सेल गठन गरेर अनुशिक्षण तालिमलगायत आवश्यक बन्दोवस्त गरिसकेका छौँ ।

निर्वाचनलक्षित सुरक्षा रणनीति के कस्तो अवलम्बन गरिएको छ ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा रणनीतिहरु तयार भइसकेको छ । सोही रणनीतिअनुसार चारवटै सुरक्षा फौज आपसी सहयोग र समन्वयका साथ अघि बढ्नेछन् । हामीसँग अप्ठ्यारो परिस्थितिमा यसअघि निर्वाचन सफल गराएको अनुभव छ । तीनै अनुभव र वर्तमान आवश्यकतालाई सम्बोधन गर्दै तदअनुरुप सुरक्षा व्यवस्था मिलाइने छ ।

निर्वाचनमा हुनसक्ने सम्भावित चुनौतीलाई कसरी हेरिएको छ ?
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ । केन्द्रमा दुई प्लटुनलाई ‘स्पेसल टास्क फोर्स’ (एसटिएफ)का रुपमा तयारी अवस्थामा राखिएको छ । हरेक बाहिनीमा एक–एक प्लटुन ‘क्विक रियाक्सन टिम’को व्यवस्था गरिएको छ । यस्तै मोबाइल स्ट्राइकिङ, क्विक रेस्पोन्स टिम र तैनाथी टोलीहरु बाहिनी, गणमा मौज्दातमा राखेर सोहीअनुसार परिचालित गर्ने नीति बनाइएको छ । निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सुरक्षा रणनीति तयार छन् । सोहीअनुसार सशस्त्र प्रहरी परिचालित भइसकेको छ । सुरक्षाको सबालमा कुनै ‘कम्प्रोमाइज’ हुँदैन ।

निर्वाचनका समयमा सशस्त्र प्रहरी बलका कति जनशक्ति खटिन्छन् ?
निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कुल ४९ हजार ६८६ जना परिचालित हुन्छन् । आवश्यक जनशक्ति अभावका कारण निर्वाचन प्रहरी लिन लागिएको हो । सुरक्षा चुनौतीलाई मध्यनगर गरी अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मजबुद बनाउने कार्य भइरहेको छ ।

निर्वाचनका समयमा असहज स्थिति बनेको खण्डमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?
निर्वाचनमा सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने हो । जिल्ला सुरक्षा समिति र अन्य सुरक्षा निकायसँगको समन्वयमा सशस्त्र प्रहरी परिचालन हुन्छ । निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्चसतर्कता अपनाएका छौँ । जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी परिचालित गरेका छौँ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई मुख्य सुरक्षा चुनौतीका रुपमा विश्लेषण गरिएको छ । यसलाई सशस्त्र प्रहरीले कसरी लिएको छ ?
नेपाल प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वयमा सशस्त्र प्रहरीले काम गरिरहेको छ । सुरक्षा चुनौतीका विषय पहिचान गरिसकेका छौँ । फरार कैदी र लुटिएका हतियार उल्लेख्य सङ्ख्यामा नियन्त्रणमा आइसकेका छन् । प्रश्न उठाइएको जस्तो सुरक्षा चुनौती हुन्न ।

पछिल्लो समय सुरक्षा फौजको मनोबलको विषय उठाइएको छ । के बाहिर टिप्पणी भएजस्तै अवस्था हो र ?
सशस्त्र प्रहरी बलको मनोबल हिजो पनि उच्च नै थियो । आज पनि उच्च नै छ र भोलि पनि उच्च नै हुनेछ । राष्ट्र र जनताप्रति समर्पित सुरक्षाकर्मीको मनोबल खस्केको छैन । विगतका अनुभवका आधारमा आसन्न निर्वाचनलाई सफल बनाउन उच्च मनोबलका साथ खटिएका छौँ । निर्वाचनको जिम्मेवारी सहज रुपमा पूरा गर्छौँ ।

सशस्त्र प्रहरी मातहत खटिने १५ हजार निर्वाचन प्रहरीको भूमिका कस्तो रहन्छ ?
सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी लिन लागेको छ । निर्वाचन प्रहरी छनोट भइसकेपछि सशस्त्र प्रहरीलाई चाहिएको जनशक्ति उपलब्ध हुने हो । उनीहरुलाई १० दिनको तालिम दिएर परिचालन गर्छौँ । उनीहरुलाई सशस्त्र प्रहरीले नै कमाण्ड गर्नेछ । १२ जना रहने एउटा मोबाइल टोलीमा सात जना सशस्त्र प्रहरी र पाँच जना निर्वाचन प्रहरी हुनेछन् । उनीहरुले मतदानस्थलसम्म पुगेर सुरक्षा प्रदान गर्नेछन् ।

सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारी सीमा सुरक्षा पनि हो । निर्वाचनको समयमा सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप रोक्न के–कस्तो तयारी गरिएको छ ?
सशस्त्र प्रहरी बल तोकिएका १४ वटा ‘म्याण्डेड’अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनलाई प्रमुख कार्यभार मानेर परिचालित भएको छ । निर्वाचनसँगै अन्य समयमा पनि सीमालाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भनेर काम भइरहेको छ । निर्वाचनका समयमा कुनै पनि घटना नहोस् भनेर बोर्डर आउट पोस्ट ९बिओपी०मा पनि त्यहीअनुसार समन्वयात्मक ढङ्गबाट परिचालन गरिएको छ । समकक्षी सङ्गठनसँग समन्वय गरेर गस्ती भइरहेको छ । यस्तै समयसमयमा सीमा सुरक्षा बैठक पनि भइरहेका छन् ।

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको योगदान कस्तो छ ?
चुहावट नियन्त्रण गरेर राजस्व सङ्कलनमा सशस्त्र प्रहरी बल सक्रियतापूर्वक खटिइरहेको छ । पछिल्लो छ महिनामा मात्रै सशस्त्र प्रहरीले एक अर्ब ८५ करोड रूपैयाँभन्दा बढी अवैध सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा दाखिला गरेको छ । चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी चनाखो छ ।

सशस्त्र प्रहरी बल स्थापनाको २५ वर्ष पुगेको छ । रजत महोत्सवको तयारी कसरी भइरहेको छ ?
रजत महोत्सवलाई भव्यतापूर्वक सफल बनाउन विभिन्न कार्यक्रम तय गरिएका छन् । भर्खरै मात्रै पूर्वपश्चिम ‘झण्डा मार्च’ कार्यक्रम सुरु भएको छ । सशस्त्र प्रहरी हेडक्वार्टर, बाहिनी, गणमा विभिन्न कार्यक्रम हुनेछन् । मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउँदै आन्तरिक र बाह्य सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी खटिइरहेको छ ।

निर्वाचनका लागि देशवासीलाई सशस्त्र प्रहरीको सन्देश के छ ?
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी खटिइसकेको छ । कुनै पनि कमिकमजोरी हुन नदिइ शान्ति सुरक्षालाई अझ मजबुत बनाएर लैजान्छौँ । आममतदातालाई ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गर्दछौँ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...