निर्वाचन : धोका कि परिवर्तन ?

16
  • प्रमिला कार्की

काठमाडौँ, २६ पुस । देश फेरि निर्वाचन अर्थात चुनावको माहोलमा होमिएको छ । जनताको मन भने उत्साहभन्दा बढी प्रश्नले भरिएको छ । यसपटक पनि उही अनुहार, उही कथा त दोहोरिने होइन भन्ने प्रश्न नेपालीहरुको मन मस्तिष्कमा छ ।

यस्तो प्रश्नको उत्तर खोज्दै अहिले राजनीतिमा केही नयाँ दलहरू पनि उदाएका छन् । पुराना दल र नेताबाट निराश भएका नागरिक, विशेषगरी युवाहरू, यी नयाँ राजनीतिक शक्तितर्फ आशाको नजरले हेर्न थालेका छन् ।

विगतका चुनावहरू साक्षी छन् । मत माग्दा विकास, सुशासन र समृद्धिको सपना बाँडियो, तर सत्ता हात परेपछि जनताको पीडा बिर्सियो । बेरोजगारीले युवालाई देश छोड्न बाध्य बनायो, किसान पसिनाको मूल्य नपाएर थला परे र आम नागरिक महँगीसँग लड्दै थाकिसके । यसको जिम्मेवारी कसले लिने ? आजसम्म बिना उत्तरका यि प्रश्नहरु जीवित छन् ।

तर ,केवल नयाँ हुनु नै पर्याप्त होइन । नयाँ दलहरूले पनि जनताको अपेक्षा बुझ्नुपर्छ । सत्ता पाउने हतारमा होइन, विगतका गल्तीबाट पाठ सिक्दै पारदर्शिता, आन्तरिक लोकतन्त्र र स्पष्ट कार्ययोजनामार्फत आफूलाई प्रमाणित गर्नसके मात्र उनीहरू विकल्प बन्न सक्छन् । नत्र, नयाँ नाममा पुरानै प्रवृत्ति दोहोरिनु दुर्भाग्य हुनेछ ।

पुराना दलहरूका लागि पनि यो चुनाव चुनौती हो । अब जनतालाई सजिलै भ्रममा पार्न सकिँदैन । वर्षौँसम्म सत्ता चलाउँदा जनजीवनमा परिवर्तन ल्याउन नसकेको यथार्थ स्वीकार नगरी अघि बढ्नु आफैँमा थप चुनौतीपूर्ण छ । बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यजस्ता मुद्दा अझै सम्बोधन हुन नसक्दा नागरिकको भरोसा कमजोर भएको छ ।

यसबीच, एक साधारण मतदाताको मन पनि द्वन्द्वमा छ । पुराना दलप्रति असन्तोष छ, तर नयाँ दलप्रति पूर्ण भरोसा जन्मिसकेको छैन । ‘फेरि धोका त खाइँदैन ?’ भन्ने डर र ‘एकपटक त मौका दिनुपर्छ’ भन्ने आशाबीच जनता उभिएका छन् । यही मानवीय द्वन्द्व अहिलेको चुनावको सबैभन्दा यथार्थ चित्र हो ।

अहिलेको चुनाव केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन, यो जनताको धैर्यको अन्तिम परीक्षा जस्तै बन्दै गएको छ । पुराना दलले आफ्नो विश्वसनीयता पुनः निर्माण गर्नुपर्नेछ भने नयाँ दलले आशालाई यथार्थमा बदल्नुपर्नेछ । र, नागरिकले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्नेछ ।

यदि यसपटक पनि राजनीति जनताको जीवनभन्दा टाढै रह्यो भने निराशा अझ गहिरिनेछ । तर, यदि सही छनोट भयो भने, अहिलेको चुनाव इतिहास बदल्ने अवसर बन्न सक्छ । –नेपाल न्यूज बैक

Share This:
सम्बन्धित खबर
Loading...