काठमाडौँ, २६ पुस । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सवारी दुर्घटनाका पीडितको सहयोगार्थ शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा १३९ जनाले रक्तदान गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी बल, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पहिलो रक्तदान गर्नुभएको थियो । उहाँले ट्राफिक सप्ताह–२०८२ को पूर्वसन्ध्यामा आयोजना गरिएको यो कार्यक्रमले ट्राफिक प्रहरीको सामाजिक उत्तरदायित्व र मानवताप्रतिको संवेदनशीलता उजागर गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ को आन्दोलनपछि हामीसँग लगाउने लुगादेखि कार्यालयसम्म केही बाँकी रहेन । एकसरो लुगा र चप्पलका भरमा पनि हामी सडकमा उत्रिएर नागरिकलाई सेवा दिँदै आयौँ । आज हामीले सडक दुर्घटनाका पीडितलाई रगत दान गर्दै छौँ । नागरिक नै हाम्रा लागि भगवान हुन्, र भगवानको सेवा गर्न हामी कहिल्यै पछि पर्ने छैनौँ ।”
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन भएको थियो ।