धुलिखेल, २४ पुस । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आउनुभएको छ । उहाँसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।
अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँ अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त हुनुहुन्छ । यस वर्ष करिब २५ लाख रूपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गर्नुभयो । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उहाँले भन्नुभयो, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गर्नुभएको हो ।
सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफीखेती गर्दै आउनुभएको छ । “कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफीखेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु ।” गत वर्ष पाँच लाख रूपैयाँ आम्दानी गरेको जनाउँदै उहाँले यस वर्ष करिब १० लाख रूपैयाँ आम्दानी हुने बताउनुभयो ।
महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफीखेती गर्नुभएको छ । दश वर्षदेखि खेती गर्दै आउनुभएकी उहाँले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफीखेतीलाई प्राथमिकता दिएको बताउनुभयो । “पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो । छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो । त्यसलाई छोडेर कफीखेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख खिम डाँगीले विसं २०७८ देखि कफीको बिरुवा वितरण गर्न थालेकामा अहिलेसम्ममा तीन लाख ३१ हजार वितरण गरिसकिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । पालिकाका एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका जनाउँदै पछिल्लोसमय यसप्रति किसानको आकर्षण बढ्न थालेको उहाँले बताउनुभयो ।
किसान कफीखेतीमा आकर्षित भएपछि गाउँपालिकाको समन्वयमा बगमती प्रदेश सरकारको सहयोगमा समुदायमा आधारित ‘एक वडा एक कृषि कफी उत्पादन कार्यक्रम’समेत सञ्चालन हुँदै आएको कृषि शाखा प्रमुख डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ३८ हजार कफीका बिरुवा, पाँच हजार छहारीका बिरुवा, १२ थान मिनी टिलर, चार थान कफी पल्पर मेसिन, ५० थान ड्रम, दुई रोपनी क्षेत्रफलमा थोपा सिँचाइ, दुई रोपनी क्षेत्रफलमा प्लास्टिक मल्चिङसहित कफी बगैँचा, एउटा कफी नर्सरी र तीन वटा सिँचाइ पोखरी कार्यक्रम सम्पन्न भएका छन् ।
यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले अनुदानमा कफीका बोट र आवश्यक उपकरण वितरण गर्नुका साथै एक बोट बराबर २० रूपैयाँका दरले अनुदानसमेत दिन थालेका कृषि शाखा प्रमुख डाँगीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विगत केहीवर्षदेखि माटो परीक्षण गर्ने, किसानलाई अनुदानमा बिरुवा तथा कफी प्रशोधन गर्ने उपकरण वितरण गर्नेदेखि कफीको बोट रोप्ने किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट २० रूपैयाँका दरले अनुदान दिने गरिएको जानकारी दिनुभयो ।
एकातिर पालिकाको सहयोग अर्कोतर्फ कफी खरिदका लागि घरआँगनमा आउन थालेपछि किसानमा उत्साह छाएको छ । कफीबाट किसानलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।
महाभारत गाउँपालिकाबाहेक अन्य सरोकार भएका निकायले पनि आवश्यक सहयोग र समन्वय गरेकाले कफीखेतीतर्फ आकर्षित हुन थालिएको किसानको भनाइ छ । टिपेर काँचै बिक्री गर्न सकिने र पेलेर, सफा गरेर पनि बिक्री गर्न सकिने भएकाले सबैले कफीखेती गर्न थालेका किसानहरू बताउँछन् ।
पछिल्लो समय यहाँ कफी टिप्ने मौसम भएकाले आपसमा आलोपालो गरेर दैनिकजसो पाकेको कफी टिप्ने, पल्पर मेसिनमा हालेर बोक्रा फाल्ने र चेरी सुकाउने काममा किसानको व्यस्तता बढेको छ ।
पहिलादेखि खेती गर्दै आएको भए पनि पछिल्लो समयमा बजारीकरण र सडक सञ्जाल खुलेपछि अधिकांशको आम्दानीको स्रोत कफीखेती भएको छ । पछिल्लो समयमा डाँडापारि क्षेत्रमा उत्पादन भएको कफी खरिदका लागि विदेशी सङ्घसंस्थाका प्रतिनिधिहरू बगैँचासम्म पुग्ने गरेका छन् ।