काठमाडौँ, २३ पुस । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगले पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताउनुभएको छ ।
निर्वाचन प्रशिक्षक प्रशिक्षण दुई दिने कार्यशाला गोष्ठी समापन समारोहमा उहाँले आगामी निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको एक अत्यन्त संवेदनशील र निर्णायक चरण भएको उल्लेख गर्नुभयो ।
आयुक्त डा.तुलाधरले भन्नुभयो, “लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, र निर्वाचनको विश्वसनीयता, निष्पक्षता तथा पारदर्शिता सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी आयोग र यसमा संलग्न सम्पूर्ण जनशक्तिको काँधमा रहन्छ ।” उहाँका अनुसार, स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली अद्यावधिक तथा मतपत्र छपाइको कार्य प्रारम्भ भइसकेको तथा निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गर्ने तथा ११ प्रकारका सामग्री सार्वजनिक निकायबाट खरिद गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको छ ।
सबै १६५ निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको नियुक्ति सम्पन्न भइसकेको छ । निर्वाचन आयुक्त तुलाधरले निर्वाचन व्यवस्थापनमा खटिने जनशक्तिको समयमै परिचालन, जिम्मेवारीको स्पष्टता, तटस्थ आचरण तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना निर्वाचनको विश्वसनीयताको आधारस्तम्भ भएको बताउनुभयो ।
मतदान प्रक्रियालाई गोप्य, सुरक्षित, सरल र मतदातामैत्री बनाउने सन्दर्भमा मतदान केन्द्र व्यवस्थापन, मतदान प्रक्रिया, मतगणना, विवाद तथा गुनासो व्यवस्थापन र नतिजा प्रमाणीकरणमा देशव्यापी रूपमा एकरूपता कायम गर्न प्रशिक्षक तथा श्रोत व्यक्तिहरूको भूमिका निर्णायक रहने उहाँको भनाइ थियो ।
निर्वाचनमा पहिलो पटक मतदान गर्ने नवयुवा पुस्ताका मतदाताहरूको उल्लेखनीय सहभागिता रहने भएकाले उहाँहरूमा लोकतन्त्रप्रति विश्वास, उत्तरदायित्व र उत्साह अभिवृद्धि गर्ने कार्य पनि प्रशिक्षकमार्फत तल्लो तहसम्म पुग्न पर्नेमा उहाँको जोड छ ।
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको क्रममा आर्थिक व्यवस्थापनमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा फौजसँगको समन्वय, जोखिम मूल्याङ्कन र संवेदनशील मतदान केन्द्रको पहिचान अत्यन्त महत्त्वपूर्ण पक्ष हुन् । गलत मतदान हुने नदिन, बदर मत कम गर्न र मतदातामा रहेको निर्वाचनसम्वन्धी भ्रमको अन्त्य गर्न प्रभावकारी मतदाता शिक्षा अपरिहार्य छ ।”
निर्वाचन आचारसंहिता, अनुगमन तथा पर्यवेक्षण संयन्त्रमार्फत यस्ता गतिविधिको नियन्त्रण र नियमनलाई आयोगले प्राथमिकतामा राखेको बताउँदै सचिव राउतले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्दै निर्वाचनको स्वच्छता, मर्यादा र सन्तुलन कायम गर्न श्रोत व्यक्तिको अभिमुखीकरणको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । उहाँले आयोग, सुरक्षा निकाय, सरकारी संयन्त्र, राजनीतिक दल, सञ्चार माध्यम तथा आम मतदाताको साझा प्रयासबाट यो निर्वाचन लोकतन्त्रको उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।