एमाले सचिवालय बैठक : निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन

9

काठमाडौँ, २२ पुस । नेकपा (एमाले)ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।

ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।

यस्तै, बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल र सदस्यमा छविलाल विश्वकर्मा, हिक्मत कार्की, डा राजन भट्टराई, रमेश बडाल, मीनबहादुर शाही र डा.भीष्म अधिकारी रहनुभएको छ । यस्तै पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीलाई निर्वाचनको काममा केन्द्रित रहेर परिचालन गर्ने निर्णय गरिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । उहाँले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई आगामी निर्वाचनमा खेलेको भूमिको आधारमा आगामी जिम्मेवारी निर्धारण गरिने बताउनुभयो ।

उपमहासचिव भट्टका अनुसार निर्वाचन नजिकै आइरहेकाले नेताहरुको कार्यविभाजन अस्थायी किसिमले गरिएको छ । पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीले नेतालाई केन्द्र र प्रदेशगत रुपमा युवा मतदाता केन्द्रित चुनाव परिचालनका लागि जिम्मेवारी दिएको जानकारी दिनुभयो । यस्तै बैठकले प्रदेश र निर्वाचन सम्बन्धित अन्य काममा संयोजन गर्न नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ । कोशी प्रदेशमा सचिव शेरधन राईलाई, मधेस प्रदेशमा लिलानाथ श्रेष्ठलाई, बागमती प्रदेशमा महेश बस्नेतलाई, राजधानीमा डा राजन भट्टराईलाई, गण्डकी प्रदेशमा खगराज अधिकारीलाई, लुम्बिनी प्रदेशमा पद्मा अर्याललाई, कर्णाली प्रदेशमा यमलाल कँडेललाई र सुदूरपश्चिममा गणेश ठगुन्नालाई तथा सङ्गठन विभागको संयोजन भानुभक्त ढकाललाई प्रदान गरिएको छ ।

यस्तै, पार्टी नियमावली संशोधन गर्नका लागि मस्यौदा कमिटीको सचिव भानुभक्त ढकाल तथा सदस्यमा रमेश बडाल र माधव ढुङ्गेललाई चयन गर्ने निर्णय गरेको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई चयन गर्ने निर्णय गरिएको छ । उपमहासचिव भट्टले राष्ट्रियसभामा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर जाने कुरामा सहमति भएको जानकारी दिनुभयो ।

दुई प्रस्ताव पारित
एमालेले हालै अमेरिकाले भेनेजुलएलामा गरेको हस्तक्षेपको भत्र्सना गरेको छ । बैठकपछि उपमहासचिव भट्टले अमेरिकाद्वारा भेनेजुलएलामा गरिएको व्यवहार न्यायिक दृष्टिकोणले कदापी स्वीकार्य नहुने भन्दै यस्तो घटनाको विरोध गर्दै विश्व व्यवस्थामा फर्कन आह्वान गरिएको बताउनुभयो । यस्तै जनकपुरमा सामाजिक सद्भाव भड्काउन गरिएको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेले सद्‌भाव कायम गर्न सरकारसँग माग गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...