अन्डाको मूल्य घट्यो

10

चितवन, २१ पुस । क्रमशः अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागु हुने गरी अन्डामा प्रतिक्रेट ९० रूपैयाँ घटाएको जनाए हो ।

फार्ममा ठुलो अन्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अन्डाको मूल्य घटेर ४७५ रूपैयाँमा झरेको हो । यस्तै, मिडियम अन्डाको प्रतिक्रेट ५५० बाट ४६० रूपैयाँमा झरेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठुला फार्मबाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रूपैयाँमा झारिएको छ । बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अन्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अन्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो ।

पहिलेको तुलनामा हाल खपत कम र उत्पादन बढी भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले जाडो कम हुँदै गएर जनजीवन सहज भएसँगै पुनः अण्डाको माग बढ्ने बताउनुभयो । “अन्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अन्डाको मूल्य घटेपछि किसानलाई थप नोक्सान हुने भएको छ”, उहाँले भन्नुभयो ।

सङ्घले बजारको अवस्थाअनुसार अन्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...