औद्योगिक अनुभवमार्फत संसद्‌मा योगदान दिन समानुपातिकमा समावेश : विदुषी राणा

6

काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा नाम पर्नुभएकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसद्‌मा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताउनुभएको छ ।

गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ साहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गर्नुभएको थियो । तर, राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभइ औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।

राणाले लेख्नुभएको छ,“मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ । ५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्ड स्टार जुत्ता उद्योगसँग म एक दशकभन्दा लामो समयदेखि आबद्ध छु । यस उद्योगमार्फत आज ३ हजार देखि ४ हजार महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यसको तीन–चार गुणा बढी परिवार अप्रत्यक्ष रूपमा आय र जीवनसँग जोडिएका छन् ।”

उहाँले औद्योगिक क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर उठाउँदै आएको पनि उल्लेख गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गरेपछि राणाले जिम्मेवारी स्वीकार गर्नुभएको हो ।

विदुषी राणाले २०७२ को संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार, उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा आवश्यक परे जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउँदै आफ्नो प्राथमिकता पद वा अधिकारमा नभइ मुद्दा र यसको निरन्तरतामा रहेको स्पष्ट पार्नुभएको छ ।

स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणका मुद्दा संसदमा अघि बढाउनु आफ्नो मुख्य उद्येश्य रहेको राणाको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...