कांग्रेसमा विशेष महाधिवेशनको प्रक्रिया जटिल र कठिन छ : गुरू बराल [भिडिओ]

13

काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताउनुभएको छ । उहाँले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताउनुभयो । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उहाँले आगामी १५औँ महाधिवेशनलाई उत्सव, एकता र विजयीका रुपमा लिनुपर्ने बताउँदै नियमित महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

१५औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसक्नुपर्ने भएपनि कार्य ढिलाइ एवम् सदस्यता व्यवस्थापनको समयमा नसक्दा नियमित प्रक्रिया केही पर सरेको उल्लेख गर्दै बरालले वैशाखमा जसरी भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने औँल्याउनुभयो ।

“आसन्न निर्वाचन अर्थात राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर माघको पहिलो हप्ताभित्र सम्पूर्ण सदस्यताहरुको व्यवस्थापन गर्नुपर्छ । त्यसपछि वैशाखको अन्तिममा १५औँ महाधिवेशन गर्ने कार्यतालिका जुन छ त्यसमा युद्धस्तरमा जुट्नुपर्छ,” उहाँले अगाडि भन्नुभयो, “विशेषका लागि हस्ताक्षर गरेका साथीहरुलाई पनि सम्मान हुनेगरी तालिका आएको छ । एक वर्ष कार्यकाल थप्ने व्यवस्था भए पनि उठेका जायज मागलाई मध्यनजर गरेर सर्वसम्मत रुपमा पुषको अन्तिम साताको कार्यतालिका ल्याएका थियौँ । तर, पार्टीका महामन्त्रीहरुले अहोरात्र खट्दा पनि सदस्यता व्यवस्थापनको काम सकिएन । जिल्ला जिल्लाबाट वडा वडाबाट सदस्यता नयाँ र पुराना सदस्यहरु नवीकरण गर्ने काम पूरा गर्न सकिएन । यो केन्द्रीय समितिको कमजोरी मात्रै होइन तल्लो तहमा पनि छिटोभन्दा छिटो यो सदस्यता काम सकाऔँ भन्ने तदारुपता अलि कमजोर देखियो । तर, अब तदारुकताका साथ काम गर्नुपर्ने बेला आएको छ ।”

कांग्रेस कमजोर भए देश कमजोर
केन्द्रीय सदस्य बरालले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुले देशलाई मध्यनजर राख्न सुझाव दिँदै उहाँले भन्नुभयो, “यतिबेला एक मतका साथ अत्यन्तै संयमित भएर कांग्रेस बलियो र एकताबद्ध बनाउने अभियानका रुपमा १५औँ महाधिवेशनलाई लिनुहोला । हामीले कार्यकाल पूरा गरिसकेका छौँ, निर्वाचनको पूर्वसन्ध्यामा छौँ । यदि कांग्रेस कमजोर भएर गयो भने देशलाई परिणाम दिन सक्दैन । डिरेल भएको राजनीतिक प्रोसेस छ, यसलाई लिकमा ल्याउन सकिन्न । त्यसैले सबैजना संयमित हुन जरुरी छ ।”

नियमित महाधिवेशनलाई उल्लासका साथ पर्वका रुपमा र मुलुकलाई एउटा गति दिने आन्दोलनका रुपमा लिएर जानका लागि जरुरी रहेको उहाँले औँल्याउनुभयो । विशेष मागकर्ताहरुको भावनाको सम्मान गर्दै सबै वर्ग र समुदायको अम्रेला बनेर कांग्रेस नेतृत्वले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

“विशेषका लागि होस या नियमितका लागि होस् महाधिवेशनको माग गरेका सबै साथीहरुले वर्षौँ दुःख गर्नुभएको छ । पुस्तौ पुस्ता लगानी गरेका साथीहरु हुनुहुन्छ । उहाँहरुको मतलाई सम्मान गर्दै हालको कार्यतालिका अनुसार अहोरात्र खटेर काम गर्नुपर्छ,” उहाँको भनाइ छ ।

विशेष महाधिवेशनको प्रक्रिया लामो
आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख समेत रहेका बरालले विशेष महाधिवेशनको प्रक्रिया लामो रहेको पनि अर्थ्यानुभयो । “विशेष महाधिवेशनको प्रक्रियामा जाँदाखेरि धेरै लामो प्रोसेस छ । केन्द्रीय समितिले नियमावली वा निर्देशिका बनाउनुपर्छ । विशेष महाधिवेशनका हस्ताक्षरकर्ताहरुको हस्ताक्षर सनाखत गर्न जरुरी छ । त्यो सबै गर्दा तीन चार महिना अरू लम्बिन्छ । त्यसले पार्टीभित्र दरार पैदा गर्छ भन्ने हाम्रो मत हो । त्यसैले त्यतातिर जानु उपयुक्त हुँदैन,” उहाँले भन्नुभयो ।

यतिबेला लोकतन्त्र र संविधान एकदमै ठुलो अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उहाँले निर्वाचनको तयारी पनि थाल्नुपर्ने बताउनुभयो । “यतिबेलाको सबै अप्ठ्यारोलाई टार्ने भनेको निर्वाचित प्रतिनिधि सभाले मात्रै हो । हामी निर्वाचनको मुखमा छौँ । अहिले पार्टीको जे जस्तो अवस्था छ यसलाई एकछिन बिर्सिएर एक मतका साथ निर्वाचनलाई सफल बनाउनु जरुरी छ । निर्वाचनलाई सफल बनाइसकेपछि त्यसपछि हाम्रो आन्तरिक जीवनलाई व्यवस्थापन गर्दै जानुपर्छ ।”

कार्यवाहक सभापतिको भूमिका
नेपाली कांग्रेसलाई निकास दिने सवालमा पार्टी सभापति शेर बहादुर देउवाले अभिभावकको भूमिका निर्वाह गर्दै कार्यवाहकका रुपमा पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिएकाले खड्काको सक्रियतालाई सम्मान गर्नुपर्ने उहाँको मत छ ।

“विशेष महाधिवेशनका साथीहरुले नेतृत्व परिवर्तनका कुरा गर्नुभएको छ । त्यो परिवर्तनको मागलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका सभापतिले कार्यवाहक दिइसक्नुभएको छ । वरिष्ठ उपसभापति पूर्ण बहादुर खड्काको भूमिका सधैँ सम्मानयोग्य बनेको इतिहास छ । पञ्चायत कालमा पनि उहाँ पार्टीको पोलिसीअनुसार सुर्खेत वीरेन्द्र नगर प्रमुख लड्नुभयो । प्रमुख जितेर शपथ खाएकै दिन गिरफ्तार हुनुभयो । त्यसपछि अनवरत निर्वाचित हुनुहुन्छ, एकचोटीभन्दा बाहेक । उहाँ मेयरदेखि उपप्रधानमन्त्रीसम्म बन्नुभयो । उहाँ सफेद हुनुहुन्छ । दाग नलाउने ठाउँमा हुनुहुन्छ र अनुभवले निकै खारिएको हुनुहुन्छ । त्यसैले उहाँलाई उपयोग गरेर निर्वाचनमा जानुपर्छ । अब मत मतान्तर गरेर धेरै दन्त बजान गरेर झन् मुलुकलाई अप्ठ्यारोमा पार्नु हुँदैन,” उहाँले भन्नुभयो ।

नेपालको लोकतन्त्र अफ्ठयारो अवस्थामा रहेकाले विदेशीहरुको कुचक्र र षड्यन्त्रमा मुलुक फस्न सक्ने भएकाले पार्टीभित्र एकता जरुरी रहेको उहाँले बताउनुभयो ।

रिफ्रेसमेन्ट चाहिएको छ
नेता बरालले कांग्रेसको माथिल्लोदेखि तल्लो तहसम्मको संरचनालाई पुनर्ताजगी चाहिएको पनि औँल्याउनुभयो । “हाम्रो पार्टीको आठ वटा तह छन् । वडामा पनि हामीले टोल समिति बनाउने गरेका छौँ । वडा समिति छ, प्रदेश सभा, पालिका समितिहरु छन्, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, केन्द्रीय समिति आदी गरेर आठ तह छन् । तिनीहरुलाई रिफ्रेसमेन्ट चाहिएको छ । आठै तहमा नेतृत्वको पुनर्ताजगी चाहिएको छ,” उहाँले अगाडि भन्नुभयो, “कतिपय ठाउँमा नयाँ समिति बन्ला, कतिपय ठाउँमा दोहोरिएला तर सबैतिर रुपान्तरण चाहिएको छ ।”

निर्वाचनमा जाँदा पनि खाली पुराना प्रतिनिधिहरुबाट नेतृत्व फेरेर जाँदा अपेक्षा पुरान नहुने भन्दै उहाँले सबै तहमा पुनर्ताजगी खोजिएको औँल्याउनुभएको हो । त्यसैले १५औँ महाधिवेशनमा सबै तहका साथीहरु अत्यन्त इमान्दार भएर मित्रवत रुपमा हार्दिकतापूर्ण तरिकाले एवम् सशक्त र प्रभावकारी कांग्रेस बनाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

देशमा डिरेल भएको पोलिटिकल अवस्थालाई लिकमा ल्याउनलाई कांग्रेसभित्रै रुपान्तरण आवश्यक भएको बताउनुभयो । निर्वाचनअघि महाधिवेशन गर्दा पर्ने असरका बारेमा पनि गहिरो विश्लेषण जरुरी रहेको उहाँको भनाइ थियो ।

दुधे बालकजस्तो नगरौँ
विशेष महाधिवेशन पक्षधरहरुले भृकुटीमण्डपमा हल बुकिङ गरेको प्रसंगमा केन्द्रीय सदस्य बरालले यस्तो गतिविधि दुधे बालक वा मलाई त्यहीँ केटी चाहिन्छ भनेजस्तो भएको व्यङ्ग्य गर्नुभयो ।

“जसरी पनि विशेष महाधिवेशन हुनैपर्छ, हल बुकिङ गरिसक्यौँ भन्ने किसिमका समाचारहरु मिडियामार्फत थाहा पायौँ । यो त दुधे बालक वा मलाई यही केटी चाहियो भनेजस्तो भयो । त्यसरी देश पनि चल्दैन पार्टी पनि चल्दैन । नेपालको अहिलेको विषम् राजनीतिक परिस्थितिलाई नेतृत्वदायी भूमिका र अभिभावकत्व पनि पूरा हुँदैन । त्यसैले मस्तिस्कमा समझदारी र काँधमा जिम्मेवारीका साथ अगाडि बढ्न सक्नुपर्छ । यसो गर्न सकियो भने नेसन वा पार्टीलाई गति दिन सकिन्छ,” उहाँले भन्नुभयो ।

देश पपुलिजमले गाज्यो
पछिल्लो राजनीतिक घट्नाक्रमपछि नयाँ दलहरुको उदयले पुराना दलहरुलाई चुनौती थपिएको प्रसंगमा नेता बरालले दल खुल्ने र टुट्नेक्रम प्रजातान्त्रिक प्रक्रिया मात्र भएको औँल्याउनुभयो ।

“नयाँ दल खुल्दा हामी चिन्ताबाट धेरै ग्रसित छैनौँ । बरु व्यक्तिगत रुपमा म खुसी छु । किनभने दलहरु खोल्ने, जुट्ने, टुट्ने वा एक आपसमा बिलय हुने डेमोक्रेसीको एउटा पक्ष हो । डेमोक्रेटिक नम्र्स र भ्यालुजभित्र रहेर पार्टीहरु खोल्ने, मिल्ने, प्रतिस्पर्धा गर्ने कुरालाई सकारात्मक लिनुपर्छ,” उहाँले अगाडि भन्नुभयो, “चिन्ता र दुःखको विषय के हो भने अहिले मुलुक पपुलिजमको नाराले पुरै गाँजेको छ । पपुलिजमको नाराले सिंहदरबारदेखि वडा कार्यालयसम्म, अदालतदेखि संसद भवनसम्म जलायो । निजी सम्पत्तिहरु तहसनहस गरेर खरानी पारिदियो । मुलुकमा उद्योगधन्दा, व्यवसाय, रोजगारका अवसरहरु खोल्नका लागि ठुलो दरार पैदा गरेको छ । त्यसकै जगमा उभिएर जो नयाँ साथीहरु आउनुभएको छ । तर, त्यहीँ पपुलिजमको नाराले मुलुकलाई अरु धेरै क्षति नपारोस् भन्न चाहन्छु ।”

इतिहासका दृष्टान्तको विश्लेषण
विशेष महाधिवेशन अभियानकर्ता महामन्त्रीद्वयले इतिहासका दृष्टान्तहरुलाई गहिरो विश्लेषण गरेर अगाडि बढ्नुपर्ने नेता बरालको सुझाव छ ।

“उहाँहरुलाई पनि के निवेदन गर्न सक्छु भने सग्लो कांग्रेस, सशक्त कांग्रेस, प्रभावकारी कांग्रेसले मात्रै मुलुकमाथि रचिएका बितण्डा र कुचक्रहरु चिर्न सक्छ । एउटा पुरानो दृष्टान्तको स्मरण गर्दा ०५९ सालमा कांग्रेस विभाजित हुँदा घोषित निर्वाचन पनि हुन सकेन र प्रजातान्त्रिक व्यवस्था पनि विस्थापित भयो । व्यवस्था पुनःप्राप्तिका लागि वा जनअधिकार प्राप्तीका लागि हामीले ठुलो कुर्वानी गर्नुपर्‍यो । धेरै ठुलो आन्दोलन गर्नुपर्‍यो । अहिले पनि ठ्याक्कै अवस्था त्यस्तै हुने हो कि भन्ने संन्त्रास छ । विभाजनका रेखाहरु कोरेर जाने हो भने व्यवस्था मात्रै होइन पपुलिजमको नाराले मुलुक थप आक्रान्त बन्नसक्छ,” उहाँले अगाडि भन्नुभयो, “देशमा अस्थिरता, अशान्त र विदेशी कुचक्रहरु मडारिएको बेला राजनीतिक, भौगोलिक, सार्वभौमिक छितिजमा धेरै काला बादलहरु मडारिएको र विदेशीहरु नाचेको अवस्था भएकाले संयमित हुन जरुरी छ । यस्तो बेला हामी अर्नगल कुरामा लाग्यौँ भने वा आन्तरिक झगडामा फस्यौँ भने मुलुकलाई गति दिन सक्दैनौँ । देश विदेशीको फन्दामा पर्नसक्छ । त्यसैले पूर्वाग्रहबाट पछि हटेर पार्टीका लागि डेमोक्रेसीका नेसनका लागि एक ठाउँमा उभिने बेला भएको छ । घोषित १५औँ महाधिवेशनलाई एकता महाधिवेशन उत्सवको रुपमा पर्वको रुपमा विजयको रुपमा लिएर जान सकौँ ।”

गठनबन्धन असम्भव
आगामी निर्वाचनमा नेपाली कांग्रेस र एमालेबिच गठबन्धन हुने कुरा सामान्य नभएको उहाँको बझाइ छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भए पनि त्यसपछिका निर्वाचनमा गठबन्धन गर्न नहुने उहाँको तर्क छ ।

“फागुन २१ को निर्वाचनमा कहीँ कतै गठबन्धनका सम्भावनाहरु देखिएका छैनन्। र हुँदैन भन्ने कुरामा विश्वस्त छु । तर राष्ट्रिय चुनौती के छ भने अहिले नयाँका नाममा आउनेहरु नेपालको राजनीतिक स्थिरताका लागि र राष्ट्रियताका लागि खतरा देखिएका छन् । त्यसैल अब मित्रवत प्रतिस्पर्धा गरौँ । सार्वभौमिकता जोगाऔँ । कुनै बादका नाममा, कुनै आइएनजिओका नाममा, कुनै थर्ड कन्ट्रीका प्रतिनिधिका नाममा देशमा बादल मडारिएको छ । त्यो बादल चिर्नका लागि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । यही माटोले जन्माएका, यही माटोमा लडेका शक्तिहरु एक ठाउँमा उभिन जरुरी छ । मित्रवत प्रतिस्पर्धा गरौँ र राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्छ,” उहाँले भन्नुभयो ।

कांग्रेस आवधिक निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक र मुलुकको जेठो एवम् अभिभावक पार्टी भएकाले राजनीतिक अस्थिरता चिर्नुपर्ने उहाँको भनाइ छ ।

निर्वाचन र महाधिवेशनको तयारी सँगसँगै
नेता बरालले हालको अन्तरिम सरकार र संसद विघटन असंवैधानिक रहेको दाबी पनि गर्नुभयो । तर, विषम् राजनीति परिस्थितिलाई लयमा ल्याउन निर्वाचनमा जानुपर्ने उहाँको भनाइ छ ।

“हामी अरु दलले भन्दा निर्वाचनको तयारी एक कदम अगाडि गरेका छौँ । उम्मेदवार तय गर्ने अभियान जारी छ । तर, सरकारका गतिविधि, सुरक्षाको अवस्था सन्तोषजनक छैन । जेलबाट भागेका अपराधीहरू अहिले पनि बाहिर छन् । अहिलेका नवसुधारवादीहरूको ताण्डव नृत्यबाट लुटिएका सुरक्षा निकायका हतियार वा औजार र ड्रेसहरु बाहिर छन् । सुरक्षाको स्थिति राम्रो छैन । संविधानले छ महिनाभन्दा बढी ठुलो रिक्तता कल्पना गरेको छैन । सुशीला कार्कीलाई फागुन २२ गते निर्वाचन गर्ने कुनै अधिकार छैन । त्यसैले पुरानो प्रतिनिधि सभालाई पुनःस्थापित गरेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर अगाडि बढ्नसक्ने आधारहरु पनि देखिएका छन्,” उहाँले अगाडि भन्नुभयो, “त्यसैले अब जेनजीहरुको भावनालाई पनि प्रतिनिधित्व गर्दै संविधान संशोधन गरेर नयाँ अध्यायमा प्रवेश गर्नुपर्छ । त्यसका लागि कांग्रेसको पहिलो प्राथमिकता भनेको निर्वाचन नै हो ।” –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...