भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल

8

काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गर्नुभएको छ ।

उहाँले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताउनुभएको छ ।

जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको आरोप लगाउनुभयो ।

खनालका अनुसार भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको मुख्य कारण देशमा रहेको विश्वकै ठुलो तेल भण्डार हो । उहाँले तेल स्रोत कब्जा गर्ने अमेरिकी स्वार्थका अगाडि मादुरो सरकार बाधक बनेपछि ‘ड्रग ट्राफिकिङ’ को झुटो बहाना बनाएर आक्रमण र अपहरण गरिएको दाबी गर्नुभयो ।

“यो केवल प्रभुत्ववादी दादागिरी मात्र होइन, अमेरिकी राज्य आतंकवाद हो,” खनालले उल्लेख गर्नुभएको छ ।

उहाँले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध दृढ रूपमा उभिएको र विश्वका न्यायप्रेमी राष्ट्र, जनता तथा संयुक्त राष्ट्रसंघसमेत उक्त आक्रमणको विरोधमा रहेको उल्लेख गर्नुभएको छ । अमेरिकाभित्रै पनि न्यायप्रेमी जनता सडक आन्दोलनमा उत्रिएको खनालको भनाइ छ ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अमेरिकी आक्रमणको पुनः घोर निन्दा गर्दै भेनेजुएलाका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । साथै उहाँले राष्ट्रपति मादुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गर्दै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारका हिंसक आक्रमणविरुद्ध कडा कानुनी कारबाही गर्न आग्रह गर्नुभयो ।

साना र कमजोर राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता र विश्व शान्तिको रक्षा गर्न विश्व समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा खनालले जोड दिनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...