तनहुँ, २० पुस । तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिनुभएको छ । एक हप्तादेखि सम्पर्कविहीन पौडेल आज मर्स्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।