काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तीव्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ ।
शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि परिस्थिति थप पेचिलो बनेको थियो ।
तर, शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्न गरेको प्रस्ताव पारित भए पनि महामन्त्रीद्वयले विशेष महाधिवेशन भइछाड्ने अडान लिएका छन् । जसका कारण पार्टी गम्भीर मोडमा आइपुगेको छ । धेरैजसो कार्यकर्ताहरुले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरिरहेका छन् ।
कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीको भविष्य र मुलुकप्रतिको चासोकै कारण कार्यसम्पादन समितिको बैठकमा सहभागी भएर आफ्ना भनाइहरु राखेको बताइरहेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बैठकमा बस्ने मन नभए पनि पार्टी र देशप्रतिको जिम्मेवारीका कारण उपस्थित भएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “कार्यसम्पादन समितिको बैठकमा बस्ने मन थिएन । तर, पार्टीको भविष्यप्रति र मुलुकप्रति चासो छ । किनभने यो पार्टीको लागि, देशको लागि धेरै वर्ष म जेल बसेको हो । हामीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथिहरुको कुरा सम्बोधन गर्नुपर्छ । पार्टीलाई पनि विखण्डन हुन नदिनुपर्ने छ ।”
डा.भण्डारीले पार्टी र देशका लागि आफूले धेरै वर्ष जेल जीवन बिताएको स्मरण गराउँदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका नेताहरूको विषय सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै उहाँले पार्टीलाई विखण्डन हुन नदिन नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी नफुट्ने दाबी गर्नुभएको छ । उहाँले हप्ता १० दिनपछि मुस्कुराएर नै कांग्रेस एक ढिक्का भएको जनकारी गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको विषयलाई मुस्कुराउँदै हामी समाधान गर्छौँ यति मात्र स्पष्ट हुनुभए हुन्छ । नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था बमोजिम कुनैपनि कार्य गरेर जाँदै गर्दा ढुक्कासाथ म भन्छु–हप्ता १० दिनपछि मुस्कुराएको तपाईंहरुले देख्नुहुने छ । कांग्रेस पार्टी फुट्दैन । ढिक्का रहन्छ कांग्रेस । धेरैले अहिलेको अवस्थाले पार्टी फुट्ने त होइन भनेर आशंका व्यक्त गर्नुभएको छ । कसैले आशंका नराख्नुहोला ।”
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपिएको जानकारी दिनुभयो । यसअघि माघ मसान्तसम्मका लागि थपिएको म्याद अब विधानअनुसार जेठ मसान्तसम्म विस्तार गरिएको हो । साथै तल्लो तहका संगठनहरूको म्याद पनि विधानको व्यवस्थाअनुसार थपिएको उहाँले बताउनुभयो ।
प्रवक्ता महतका अनुसार नेपाली कांग्रेस १५औँ नियमित अधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ । तर, कार्यतालिकाअनुसार समयमा सबै प्रक्रिया सम्पन्न गर्न नसकिएकाले क्रियाशील सदस्यता वितरण र केन्द्रमा पठाउने समय केही थप गर्नुपरेको हो । समय थपिएपछि छानबिन गरेर अन्तिम नामावली टुंगो लगाइ निर्वाचन आयोगलाई हस्तान्तरण गरिने उहाँले स्पष्ट पार्नुभयो ।
उनले निर्वाचन आयोगले जिल्ला–जिल्लामा वडा तहदेखि अधिवेशन गराउन पर्याप्त समय नपुग्ने अवस्थाका कारण कार्यतालिका संशोधन गर्नुपरेको बताउनुभयो । “१५औँ अधिवेशनको प्रक्रिया निरन्तर जारी छ, परिस्थिति बस समयसीमा मात्र लम्ब्याउनुपरेको हो,” उहाँले भन्नुभयो ।
फागुन २१ गतेको आम निर्वाचनका कारण अधिवेशनको समय वैशाखभन्दा अघि फागुन वा चैतमै हुने भनेर यकिन गर्न नसकिएको पनि प्रवक्ता महतले बताउनुभयो । तर, महामन्त्रीद्वय थापा र शर्माले फरक मत राख्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसका कारण पार्टीले भविष्यमा कुन आकार लिन्छ भन्नेमा संशय पैदा भएको छ ।