- सन्तोषी रावल
काठमाडौँ, १७ पुस । काठमाडौँका प्रमुख बजार क्षेत्रहरूमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ ।
स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भिडभाड बढे पनि अवस्था असाधारण भने छैन । इन्द्रचोक, असन, न्युरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।
नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अङ्ग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभए पनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।
उहाँका अनुसार दिन ढल्दै जाँदा अझै भिडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिसहरू फोटो खिच्दै, भेटघाट गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरिरहेको दृश्य देख्न सकिन्छ ।
जुत्तापसलमा काम गर्दै आएका सुरज तामाङले अब नेपाली नयाँ वर्ष जति पनि चहल पहल देखिन्छ अङ्ग्रेजी वर्षमा त्यति चहलपहल नहुने बताउनुभयो । उहाँले हिजो अस्तिभन्दा अलिकति मानिसहरुको हिँड्डुल तथा फोटो भिडिओ खिच्नेहरुको संख्या बढेको छ ।
त्यस्तै, साडीको व्यापार गर्दै आउनुभएका नारायन हुमागाईंले अङ्ग्रेजी नयाँ वर्षमा व्यापारमा फरक नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारको दृष्टिले भने बजारमा अपेक्षित चहलपहल देखिएको छैन ।” नयाँ वर्षमा किनमेलभन्दा बढी घुमफिर र पारिवारिक भेटघाटमा मानिसहरूको ध्यान केन्द्रित हुने गरेको उहाँले बताउनुभयो ।
विदेशी पर्यटकहरू पनि किनमेलभन्दा होटल, खानपिन र घुमफिरमै व्यस्त देखिएका छन् । समग्रमा अङ्ग्रेजी नयाँ वर्ष काठमाडौँमा सामान्य चहलपहल र सीमित व्यापारका बीच रमाइलो वातावरणमा मनाइँदै गएको छ । –नेपाल न्यूज बैङ्क