काठमाडौँ, १७ पुस । अङ्ग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर, यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको नभइ, नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक जोगाउने जागरण अभियानको हिस्सा भएको स्पष्ट पार्नुभएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले राष्ट्रिय पोशाक दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई चिनाउने साझा औपचारिक पोशाकलाई विश्वभर स्थापित गर्नु भएको बताउनुभयो ।
“जसरी नेपाललाई सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेर चिनिन्छ, त्यसैगरी नेपालीलाई चिनाउँदा दौरा–सुरुवाल र टोपी हाम्रो साझा पहिचान बनोस् भन्ने चाहना हो,” उहाँले भन्नुभयो ।
दौरा–सुरुवाल र टोपी विश्वमै नेपालमा मात्र प्रयोग हुने विशिष्ट पोशाक भएको र संयुक्त राष्ट्रसंघसम्म नेपालले यसको प्रतिनिधित्व गरिरहेको उहाँले उल्लेख गर्नुभयो । माण्डव्यका अनुसार नेपाली नयाँ वर्ष त वैशाख १ गते भव्य रूपमा मनाइँदै आएको छ र विक्रम सम्वत् मनाउने विश्वको एकमात्र देश नेपाल हो । तर, जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रूपमा रोज्नुको कारण विश्वभर छरिएर बसेका नेपाली समुदायसँग जोडिएको छ ।
“जनवरी १ मा संसारभर सार्वजनिक बिदा हुन्छ । विदेशमा रहेका नेपालीहरू यही दिन नयाँ वर्ष मनाउँछन् । यही कारण संसारका कुना–कुनामा रहेका नेपालीलाई आफ्नो पोशाक, भाषा र संस्कृतिसँग जोडिराख्न यो दिन रोजिएको हो,” उहाँले भन्नुभयो ।
उहाँले विदेशमा बसोबास गरिरहेका नेपालीहरूको तेस्रो पुस्तासम्म पुग्दा भाषा, संस्कृति र परम्परा हराउने जोखिम औँल्याउनुभयो । ‘पहिलो र दोस्रो पुस्ताले निरन्तरता नदिए तेस्रो पुस्तामा भाषा र संस्कार हराउँछ । त्यसैले विदेशमा रहेका नेपालीले कम्तीमा एक दिन भए पनि आफ्नो राष्ट्रिय पोशाक लगाएर नेपालीपन सम्झिऊन् भन्ने उद्देश्य हो,” माडव्यले भन्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय पोशाक दिवस केवल दौरा–सुरुवाल र टोपीमा सीमित छैन । “नेपाल बहुजातीय, बहुसांस्कृतिक देश हो । गुरुङ, मगर, राई, लिम्बू, मधेसी समुदायदेखि पहाड र हिमालका सबै जातजातिका पोशाक नेपाली पोशाक हुन्,” उहाँले स्पष्ट पार्नुभयो । तर, ती सबैमध्ये नेपाललाई औपचारिक रूपमा विश्वमा चिनाउने साझा पोशाकका रूपमा दौरा–सुरुवाल र टोपीलाई स्थापित गर्नुपर्ने उहाँको धारणा छ ।
माण्डव्यले पछिल्लो समय पोशाकलाई लिएर भइरहेको विवादप्रति पनि असन्तुष्टि जनाउनुभएको छ । विशेषगरी मधेसमा ‘धोती दिवस’ मनाइँदै आएको सन्दर्भमा उहाँले धोती र टोपीलाई एक–अर्काविरुद्ध उभ्याउनु गलत भएको बताउनुभयो । धोती मधेसको मात्र नभइ, हाम्रो वैदिक सनातनी साझा पोशाक भएको उहाँको जिकिर छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा धोतीको महत्त्व भएको कुरा स्मरण गर्दै उहाँले धोतीलाई हेयको दृष्टिले हेर्नु जघन्य अपराध भएको बताउनुभयो ।
उहाँले मधेस केन्द्रित नेताहरूलाई आग्रह गर्दै भन्नुभयो, “धोती दिवस मनाउनुस्, मिति तोक्नुस्, नेपाली नयाँ वर्षमा मनाउनुस्, हामी धोती लगाएर सहभागी हुन्छौँ । तर, कृपया धोती र टोपीको लडाइँ नदेखाउनुस् ।” राजनीतिक उद्देश्यका लागि पोशाकलाई प्रयोग गरेर विखण्डन सिर्जना गर्न नहुनेमा उहाँको जोड छ ।
त्यस्तै, पहाडी क्षेत्रमा पनि टोपी दिवसलाई केवल फेसन र सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्यु’ बटुल्ने माध्यम बनाइएको भन्दै उहाँले त्यसको आलोचना गर्नुभयो । जिन्सको पाइन्ट लगाएर माथि टोपी मात्रै लगाउनु पोशाक संरक्षण होइन । गुन्यू–चोली, चौबन्दी चोली, सिरबन्दी जस्ता महिलाका परम्परागत पोशाक हराउँदै गएको भन्दै उहाँले त्यसप्रति चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
उहाँले राजनीतिज्ञहरूको पहिरनमा आएको परिवर्तनलाई सकारात्मक संकेतका रूपमा समेत व्याख्या गर्नुभयो । “पहिले जिन्स लगाएर आफूलाई क्रान्तिकारी ठान्ने प्रवृत्ति थियो । अहिले शीर्ष नेताहरू पनि दौरा–सुरुवाल लगाएर औपचारिक कार्यक्रममा देखिन थालेका छन् । यसले राष्ट्रिय पोशाकको गम्भीरता देखाउँछ,” माण्डव्यले भन्नुभयो।
देशलाई प्रतिनिधित्व गर्ने एउटा पोशाक चाहिन्छ ।
नेपाल जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिएको मुलुक हो । हरेक जातजातिका आफ्नै मौलिक पोशाक, पहिचान र परम्परा छन् । नेवार समुदायको हाकू पटासी, गुरुङ, मगर, राई, लिम्बू, थारु, मधेसी समुदायका आ–आफ्ना पोशाकहरूले नेपालको सांस्कृतिक सुन्दरता झल्काउँछन् ।
यस्ता विविधताबीच ‘दौरा–सुरुवाल र गुन्यू–चोलीलाई नै राष्ट्रिय पोशाक मान्नुपर्छ’ भन्ने बहस उठ्नु स्वाभाविक भए पनि, यसको मर्म एकता र साझा पहिचानसँग जोडिएको माण्डव्यको तर्क छ । माण्डव्यका अनुसार राष्ट्रिय पोशाक भन्नाले सबै जातजातिको पोशाकलाई विस्थापित गर्ने उद्देश्य होइन । “हामी सबैका पोशाक हाम्रो गर्व हुन् । तर, ती सबै नेपाली पोशाकमध्ये नेपाललाई औपचारिक रूपमा प्रतिनिधित्व गर्ने एउटा साझा पोशाक चाहिन्छ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार नेपालका १४० भन्दा बढी जातजातिमध्ये करिब ७० प्रतिशतभन्दा बढी समुदायका पुरुषहरूको परम्परागत पोशाकको मूल आधार दौरा नै रहेको छ ।
फरक भूगोल र समुदायअनुसार कसैले पटुकी बाँध्छन्, कसैले इस्टकोट, कसैले कछाड प्रयोग गर्छन्, तर माथिल्लो पोशाकको संरचना प्रायः दौरा नै भएको उहाँको दाबी छ । महिलाको हकमा भने गुन्यू–चोली लगभग सबै जातजातिमा आधारभूत परम्परागत पोशाकका रूपमा रहेको माण्डव्यको भनाइ छ ।
“डिजाइन फरक हुन सक्छ, हाकू पटासी जस्ता भिन्नता देखिन्छन् तर मूल संरचना गुन्यू–चोली नै हो,” उहाँ भन्नुहुन्छ । यस आधारमा राष्ट्रिय पोशाकको अवधारणा विविधतालाई नकार्ने नभइ साझा आधार खोज्ने प्रयास भएको उहाँ स्पष्ट पार्नुहुन्छ ।
राष्ट्रिय पोशाक सरलता र राष्ट्रियताको प्रतीक हो
मधेसमा गर्मीका कारण दौरा–सुरुवाल लगाउन गाह्रो हुने तर्कलाई माण्डव्यले आंशिक रूपमा मात्रै स्वीकार गर्नुभयो । “गर्मीमा असहज हुन्छ, म आफैँले अनुभव गरेको छु,” उहाँ भन्नुहुन्छ, “तर जाडोमा मधेसमा पनि कोट लगाइन्छ । अहिले त सितलहरमा सबैले कोट लगाइरहेका छन् ।” उहाँका अनुसार राष्ट्रिय पोशाक सरलता र राष्ट्रियताको प्रतीक हो, जुन आवश्यकता अनुसार प्रयोग गर्न सकिने पहिरन हो ।
राष्ट्रिय पोशाकको विषयमा विभाजन सिर्जना गरिएकोप्रति माण्डव्य असन्तुष्ट हुनुहुन्छ । “हामीलाई टुक्रा–टुक्रा पारियो, आफ्नै संस्कृति बिर्सिएर दौरा–सुरुवालको विरोध गर्ने प्रवृत्ति देखियो,” उहाँ भन्नुहुन्छ । दलित समुदायको उदाहरण दिँदै उहाँले प्रश्न गर्नुहुन्छ, “दलित समुदायका लागि अलग्गै पोशाक, भाषा वा संस्कार छैन । उनीहरूको परम्परागत पोशाक पनि दौरा–सुरुवाल नै हो ।” यस आधारमा दौरा–सुरुवाललाई कुनै एक वर्ग वा समुदायको पोशाक मात्र ठान्नु गलत भएको उहाँको निष्कर्ष छ ।
माण्डव्यले पूर्व राष्ट्रपति रामवरण यादवको उदाहरण पनि स्मरण गर्छन् ।
“रामवरण यादवले दौरा–सुरुवाल लगाएर माथि गम्छा राख्नुभयो । त्यसको अर्थ स्पष्ट थियो दौरा–सुरुवाल साझा पोशाक हो र गम्छा मधेसप्रति सम्मान हो,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार चाहना भए एकता सम्भव छ, तर राजनीति र स्वार्थका कारण विभाजन बढाइएको छ ।
इतिहासतर्फ फर्कँदै माण्डव्यले पञ्चायतकालको स्मरण पनि गर्नुभयो । उहाँका अनुसार त्यो समयमा दौरा–सुरुवाललाई राजासँग मात्र जोडेर आम जनतालाई लगाउन नदिने प्रवृत्ति थियो । “राजा स्वयम् लिबरल थिए, तर वरिपरिका पञ्चेहरूले आम मानिसलाई दौरा–सुरुवाल लगाउन पनि अनुमति माग्नुपर्ने अवस्था सिर्जना गरे,” उहाँ भन्नुहुनछ । यही कारणले दौरा–सुरुवालप्रति नकारात्मक मनोविज्ञान विकसित भएको उहाँको विश्लेषण छ । अहिले भने त्यो मानसिकता क्रमशः परिवर्तन हुँदै गएको उहाँ बताउनुहुन्छ ।
राष्ट्रिय पोशाकसम्बन्धी सोच सकारात्मक हुँदै गएको छ
राष्ट्रिय पोशाक अभियान सुरु भएपछि समाजबाट आउने प्रतिक्रिया सकारात्मक रहेको माडव्यको दाबी छ । सुरुमा कम्युनिस्ट विचारधारामा हुर्किएका धेरैले पोशाक, भाषा र संस्कृतिलाई गौण ठान्ने गरेको भए पनि अहिले सोच बदलिएको उहाँ बताउनुहुन्छ । “पहिले दौरा–सुरुवाललाई राजावादी वा पञ्चेहरूको पोशाक भन्ने बुझाइ थियो । अहिले सबैले त्यो गलत रहेछ भन्ने महसुस गरेका छन्,” उहाँ भन्नुहुन्छ ।
राज्यको भूमिकाबारे बोल्दै माण्डव्यले अभियानपछि औपचारिक पोशाकसम्बन्धी व्यवस्था राजपत्रमा उल्लेख भएको स्मरण गराउनुभयो । “शपथ ग्रहण, औपचारिक कार्यक्रममा दौरा–सुरुवाल प्रयोग गर्न परिपत्र जारी भयो,” उहाँ भन्नुहुन्छ ।
संविधानमै लेख्न कठिन भए पनि राज्यस्तरबाट औपचारिक पोशाकको मान्यता स्थापित भएको उहाँको भनाइ छ । वर्तमान राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत नेतृत्व तहका व्यक्तिहरू औपचारिक कार्यक्रममा दौरा–सुरुवालमै देखिनु यसको प्रमाण भएको उहाँ बताउनुहुन्छ ।
यद्यपि, माडव्यको चिन्ता नेतृत्वभन्दा बढी नयाँ पुस्तातर्फ केन्द्रित छ । “हामीलाई कुनै मन्त्रीले दौरा–सुरुवाल लगायो कि लगाएन भन्ने चिन्ता छैन,” उहाँ भन्नुहुन्छ, “हाम्रो चिन्ता विद्यालय जाने बालबालिका र अल्फा पुस्ता हाम्रो भाषा, संस्कृति र पोशाकसँग जोडिन्छ कि जोडिँदैन भन्ने हो ।” उहाँका अनुसार संस्कृति बचाउने जिम्मेवारी अब नयाँ पुस्तामै निर्भर छ ।
यस वर्षको राष्ट्रिय पोशाक दिवसको तयारीबारे पनि माण्डव्यले जानकारी दिए । यस वर्ष झण्डाका पुनर्भाषाकार वरिष्ठ इन्जिनियर शंकरनाथ, अन्तर्राष्ट्रिय टोपी अभियान चलाएका शंकर भण्डारी तथा संयुक्त राष्ट्रसंघदेखि सगरमाथासम्म झण्डा बोकेर साइकल यात्रा गर्ने पुष्कर शाहलाई सम्मान गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । “हामी कार्यक्रम बन्द कोठामा होइन, सडकमा गर्छौँ, ताकि जनस्तरमा जागरण होस्,” माण्डव्य भन्नुहुन्छ ।
“विविधतामै हाम्रो सुन्दरता छ, तर साझा पहिचानले मात्र हामीलाई एक बनाउँछ,” उहाँ भन्नुहुन्छ । राष्ट्रिय पोशाक अभियानलाई विभाजन होइन, एकताको प्रतीकका रूपमा बुझ्नुपर्ने उहाँको आग्रह छ । –नेपाल न्यूज बैंक