रौतहट, १५ पुष । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो ।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।
बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिनुभयो । उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् । दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उहाँले बताउनुभयो ।
दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको थियो । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएको छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर-गौर राजमार्ग हुँदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।