विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास

6

पर्वत, १५ पुस । आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक तीन करोड रूपैयाँ कारोबार गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक तीन करोड रूपैयाँ आम्दानी गर्दै आउनुभएको हो ।

एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा तीन करोड रूपैयाँको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा तीन करोड रूपैयाँको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट तीन करोड रूपैयाँ आम्दानी हुने उहाँको भनाइ छ । “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ । तर, पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश हुनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बन्नुभएको थियो ।

जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उहाँको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।

फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।

सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर  एक करोड रूपैयाँभन्दा बढी बचत हुने गरेको जानकारी दिनुभयो । हाल रेम्बो ट्राउट प्रतिकिलो एक हजार रूपैयाँमा बिक्री हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...