नख्खुबाट भागेका कैदी पक्राउ

0

खाँदबारी, १४ पुस । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् ।

केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो ।

फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । चिचिला–५ का अमित जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय नख्खुमा कैद भुक्तान गरिरहेका थिए ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । जिल्लामा जेनजी प्रदर्शनका क्रममा भागेको हालसम्म सात कैदीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...