काठमाडौँ, १४ पुस । उपसभामुख इन्दिरा राना मगरले आफूले राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उहाँले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताउनुभयो ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताउनुभयो ।
“मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,” उहाँले भन्नुभयो, “समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ ।”
आफूले गाडी बुझाएको विषयलाई लिएर राजीनामा दिएको भनी समाचार लेखिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो । “गोरखापत्र, केही अनलाइनहरूले राजीनामा दियो भनेर लेखे । आफ्नै देशका सञ्चारमाध्यमले यस्तो लेख्दा मलाई लाज लागिसक्यो,” उहाँले भन्नुभयो ।
उपसभामुख रानामगरले सरकारले गर्न नसकेको काम आफूले गर्दा पनि त्यसलाई ‘तमासा’ बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । जनतालाई राम्रो सन्देश दिनका लागि गाडी बुझाएको भए पनि आफूले सुरुवातीमा पदभार ग्रहण गरेकै बेला प्रयोग गरिरहेको जस्तै अवस्थामा गाडी फिर्ता गर्न दबाब दिइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जसको घर नै यहाँ छैन, केही गर्दा त्याग नै गरेको हुँ । तर, मैले सरकारले गर्न नसकेको काम गरिरहेको छु । बालबच्चाहरुका लागि नेपालभरि बस्ने घर बनाएको छु, स्कुल बनाइदिएको छु । यत्रो स्कुलहरु चलाइदिएको छु, सरकारले नगरेको काम मैले गरेको छु । तर, पनि मलाई तमासा बनाउने काम भयो । कस्तो देश होला ? मलाई पीडा भएको छ तर पीडा पोख्दिन । तर, जति मलाई पीडा दिन्छन् उत्तिकै चट्टान बनेर उभिन्छु ।”
उहाँले आफूले देशभर बालबालिकाका लागि आवास, विद्यालय निर्माण र विद्यालय सञ्चालनजस्ता काम गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर आलोचना गरिनु दुःखद भएको बताउनुभयो ।
संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म कायम रहने व्यवस्था रहेको उल्लेख गर्दै रानामगरले सोही प्रावधानअनुसार राजीनामा नदिइ सरकारी सुविधा मात्रै नलिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ९१ ले सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनका लागि मनोनयनको दिनसम्म रहने भनेको छ । तर, कानुनले यस्तो अवस्थामा पदावधी सकिने भनेर स्पष्ट भनेको छैन । सोहीअनुसार मैले राजीनामा नभइ सुविधा चाहिँ नलिएको हो । जनतालाई राम्रो सन्देश दिन खोजेको हुँ । तर, गाडी बुझाउँदा पनि जस्तो लगेको हो, त्यस्तै गाडी बुझाउने भनेका छन् । मसँग गाडी बनाउने पैसा छैन । तर, केही शक्तिहरु मिलेर दबाउन खोजिँदैछ ।”
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक तर्फको मनोनयन दर्ता हुँदै छ । नेपालको संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुखको कार्यकाल ‘प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुने दिनसम्म’ कायम रहने उल्लेख छ ।
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उहाँले सेवा–सुविधा त्यागेको बताउनुभयो ।