ब्रिटिस कलेज सभ्य व्यवहार र संवादमा विश्वास गर्छ, अस्वाभाविक र अव्यावहारिक माग पूरा गर्दैन : राजन कँडेल [भिडिओ]

2

पछिल्लो समय काठमाडौँ थापाथलीमा रहेको द ब्रिटिश कलेजले आफ्ना विद्यार्थीलाई ‘दुबईमा इन्टर्नसिप’ प्रदान गरेको विषय विवादमा आएको छ । केही विद्यार्थी आक्रोशित बनेका छन् । उक्त घटनापछि कलेज भवनमा तोडफोड मात्र भएको छैन सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ । तर, क्याम्पस प्रशासनले उक्त घटनालाई केही असम्बन्धित एवम् इस्यु नबुझेका विद्यार्थीले तोडमोड गरेको, अतिरन्जित गरेको साथै क्याम्पसको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । उक्त घटनालाई लिएर ब्रिटिस एजुकेसन ग्रुप एवम् द ब्रिटिस कलेजका संस्थापक राजन कँडेलसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा ब्रिटिस कलेजबारे नकारात्मक सामग्रीहरु फैलिएको छ, तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?
ब्रिटिस कलेज विगत करिब १४ वर्षदेखि नेपालमा उच्च शिक्षा प्रदान गर्दै आएको एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस अवधिमा हामीले झन्डै १० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरिसकेका छौँ । हाम्रो कलेजले शैक्षिक गुणस्तरका साथै अन्तर्राष्ट्रिय अवसरहरूमा समेत विद्यार्थीलाई जोड्ने लक्ष्य लिँदै आएको छ ।

हाम्रो विभिन्न कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सचेन्ज र क्रेडिट ट्रान्सफरका अवसरहरू उपलब्ध छन् । युके, दुबई, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा क्रेडिट ट्रान्सफरका लागि हामीले सम्बन्धित विदेशी संस्थाहरूसँग औपचारिक समझदारी गरेका छौँ । विशेषगरी हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमअन्तर्गत पहिलो वर्ष नेपालमा अध्ययन गरी तेस्रो वर्ष दुबईमा अध्ययन गर्ने व्यवस्था हाम्रो साझेदार संस्थामार्फत सञ्चालन हुँदै आएको छ ।

यही सन्दर्भमा, अहिले म अत्यन्तै दुःखका साथ एउटा गम्भीर विषयबारे आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छु । पछिल्लो समय सामाजिक सञ्जालमा ब्रिटिस कलेजसम्बन्धी केही झुटा, गलत र भ्रामक सामग्रीहरू व्यापक रूपमा फैलाइएको देखियो । ती सामग्रीहरू कलेजको वास्तविकताभन्दा फरक छन् र हाम्रो संस्थाको छविलाई बदनाम गर्ने उद्देश्यले फैलाइएका जस्ता देखिन्छन् ।

यसमा प्रारम्भिक रूपमा हाम्रो हस्पिटालिटी म्यानेजमेन्टमा अध्ययनरत केही थोरै विद्यार्थी संलग्न भएको देखिए पनि पछि बाहिर–बाहिरका विभिन्न व्यक्तिहरू समेत यसलाई अतिरञ्जित र भ्रामक बनाउँदै कलेजविरुद्ध प्रयोग गरिएको तथ्य हाम्रो ध्यानमा आएको छ ।

दुबईस्थित हाम्रो साझेदार संस्थामार्फत हालसम्म नेपालबाट करिब ५०–५१ जना विद्यार्थी त्यहाँ अध्ययनका लागि गएका छन् र अहिले पनि उनीहरू अध्ययनरत छन् । तीमध्ये हालै ७–८ जना विद्यार्थीले आफूलाई उपलब्ध गराइएको इन्टर्नसिपप्रति असन्तुष्टि व्यक्त गरेको कुरा बाहिर आएको हो ।

यहाँ स्पष्ट गर्न चाहन्छु- कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई शिक्षा प्रदान गर्नु हो । इन्टर्नसिपको हकमा कलेजले सहजीकरण र सहयोग गर्छ, तर विद्यार्थीले आफूले चाहेजस्तै वा रोजेकै स्थानमा इन्टर्नसिप ग्यारेन्टी गर्नु सम्भव हुँदैन । इन्टर्नसिपका लागि सम्बन्धित होटल वा संस्थाले लिने इन्टरभ्युमा विद्यार्थी स्वयम् सफल हुनुपर्छ । केही विद्यार्थी उक्त इन्टरभ्यु प्रक्रियामा सफल हुन सकेनन् भन्ने यथार्थ पनि छ ।

त्यसपछि पनि कलेजले आफ्नो नेटवर्क प्रयोग गरी ती विद्यार्थीहरूका लागि झन्डै चारवटा फरक–फरक इन्टर्नसिप अवसरहरू मिलाइदिएको थियो । अन्ततः डिसेम्बरको पहिलो सातादेखि अबुधाबीमा अफिसियल रूपमा इन्टर्नसिप कन्फर्म गरिएको थियो । त्यो क्रिसमसको छुट्टीको समय भएकाले इन्टर्नसिपका अवसरहरू तुलनात्मक रूपमा राम्रो थिए । त्यहाँ उनीहरूलाई बसोबास, खानाको व्यवस्था साथै १५०० देखि २००० दिरामसम्मको मासिक भत्ता पनि उपलब्ध गराइएको थियो ।

अधिकांश विद्यार्थीहरू यी व्यवस्थाबाट सन्तुष्ट र खुसी छन् । तर, ती ७–८ जना विद्यार्थीहरू सायद केही हदसम्म मिसगाइडेड भए वा गलत सूचना र प्रभावमा परे भन्ने मेरो ठम्याइ छ । ब्रिटिस कलेज सधैँ विद्यार्थीको भविष्यप्रति जिम्मेवार संस्थाका रूपमा काम गर्दै आएको छ र भविष्यमा पनि पारदर्शिता, गुणस्तर र सत्यताका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सामाजिक सञ्जालमा फैलाइएका भ्रमभन्दा वास्तविकता बुझ्न सबै सरोकारवालालाई म आग्रह गर्दछु ।

दुबईबाट फर्किएका ती सातआठ जना विद्यार्थीको वास्तविक अवस्था के हो ?
यदि कुनै विषयमा मिसअन्डरस्ट्यान्डिङ भएको हो भने, त्यो सबैमा हुनुपर्ने हो । तर, यहाँ प्रश्न उठ्छ-दुबईमा अहिले पनि करिब ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, उनीहरूलाई कुनै समस्या छैन, उनीहरू सन्तुष्ट र खुसी छन् । त्यसो हुँदा पनि ७–८ जना विद्यार्थीमा मात्र असन्तोष देखिनु, मलाई लाग्छ, कतै न कतै गलत बुझाइ भएको हुन सक्छ ।

म यो दाबी गर्दिनँ कि हामी सधैँ एकसय प्रतिशत पर्फेक्ट छौँ । सम्भव छ, हाम्रो तर्फबाट कुराहरू अझ स्पष्ट र प्रभावकारी रूपमा बुझाउन सकिन्थ्यो । सायद हाम्रो स्टाफले अझ राम्रोसँग एक्सप्लेन गर्नुपथ्र्यो, वा सायद विद्यार्थीहरूले नै केही कुरा गलत रूपमा बुझे । त्यसैले यसलाई म पूर्ण रूपमा एउटै पक्षको गल्ती भनेर हेर्दिनँ । दुबईबाट फर्किएका ती ७–८ जना विद्यार्थीमध्ये केहीका अभिभावकसँग हामीले प्रत्यक्ष छलफल गर्‍यौँ । बसेर कुरा गर्‍यौँ, समाधान खोज्यौँ । केही विद्यार्थी उतै गलत किसिमले इन्फ्लुयन्स भएर फर्किएको कुरा पनि देखियो । कोही विद्यार्थी ‘हामी फर्किन्छौँ’ भन्दै फर्किसकेका थिए भने, कोहीको हकमा हामीले अभिभावकसँग मिलेर वैकल्पिक निकासको व्यवस्था गरिदियौँ । आजको मितिमा दुबईबाट फर्किएका ती विद्यार्थीहरूको समस्या समाधान भइसकेको छ । त्यस विषयमा कुनै अन्योल छैन ।

तर, दुःखको कुरा के हो भने, दुबईबाट नफर्किएका एक–दुई जना विद्यार्थीले यही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा एक प्रकारको ‘सोसल मिडिया ट्रायल’ चलाएको देखियो । कलेजको अनुमति बिना भिडिओ खिच्ने, लाइभ स्ट्रिम गर्ने, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, शिक्षकहरूलाई मानसिक दबाब दिने, कक्षामा अवरोध सिर्जना गर्ने जस्ता गतिविधिहरू भए । यी सबै कुरा सुन्दा र देख्दा म व्यक्तिगत रूपमा मात्र होइन, संस्थागत रूपमा पनि अत्यन्तै स्तब्ध भएँ ।

ब्रिटिस कलेजको १४ वर्षे इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । हामीले हजारौँ विद्यार्थीलाई यही कलेजबाट ग्राजुएट गरिसकेका छौँ । हामी आफैँ अभिभावक हौँ, जिम्मेवार शैक्षिक संस्था हौँ । विद्यार्थीहरू केटाकेटी हुन्, उनीहरूबाट गल्ती हुनसक्छ । त्यसैले हामी कहिल्यै आक्रोशित हुँदैनौँ, बदला लिँदैनौँ । हामी संयमित भएर सम्झाउने, बुझाउने र सुधारको मौका दिने बाटो रोज्छौँ ।

यस्ता प्रयासहरू ती विद्यार्थीहरूसँग अहिले पनि जारी छन् । हामी संवादमै विश्वास गर्छौँ । तर, यहाँ एउटा गम्भीर पक्ष पनि छ । विगत १४ वर्षमा कलेजले नियम उल्लंघन, शैक्षिक असफलता वा शुल्क नतिरेको आधारमा केही विद्यार्थीलाई कलेजबाट हटाएको इतिहास पनि छ । तीमध्ये दुई जना विद्यार्थीले अहिले अरू असम्बन्धित व्यक्तिहरूलाई जम्मा गर्ने, कलेजसँग कुनै सम्बन्ध नै नभएका मानिसहरूलाई समेत मिसाएर कलेज परिसरमा ल्याउने, हल्ला गर्ने, भिडियो खिच्ने, गालीगलौज गर्ने र कलेजको गरिमा अपमानित गर्ने काम गरेको देखियो ।

यति मात्र होइन, कलेजसँग कुनै सम्बन्ध नभएका बाहिरका विद्यार्थी संगठनलाई समेत बोलाएर कलेजमा तोडफोड गराउने गतिविधि भएको कुरा सुन्दा अत्यन्तै पीडा भयो । एउटा शैक्षिक संस्थामाथि यसरी आक्रमण हुनु, त्यो पनि गलत सूचना र आवेगका भरमा, अत्यन्तै दुर्भाग्यपूर्ण हो ।

ब्रिटिस कलेजले सधैँ संवाद, सहमति र समाधानको बाटो रोज्दै आएको छ । हामी भविष्यमा पनि यही बाटोमा अघि बढ्नेछौँ । असन्तोष, भ्रम वा समस्या भए त्यसको समाधान टेबलमा बसेर, प्रमाण र तथ्यका आधारमा गर्न सकिन्छ । सामाजिक सञ्जालको हल्ला, अपमान र तोडफोड कुनै पनि समस्याको समाधान होइन ।

म सबै विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गर्न चाहन्छु-भ्रमभन्दा वास्तविकता बुझौँ, आवेगभन्दा सम्वाद रोजौँ । ब्रिटिस कलेज विद्यार्थीको भविष्यप्रति आज पनि उत्तिकै जिम्मेवार छ, र भोलि पनि रहनेछ ।

कलेजमाथि पछिल्लो समय विद्यार्थीमाथि मानसिक र शारीरिक ह्यारेसमेन्टसम्बन्धी गम्भीर आरोपहरू लागेका छन् । कलेजले यस्तो आरोपलाई कसरी सम्बोधन गरिरहेको छ ?
पछिल्लो समय व्रिटिस कलेजमाथि लगाइएका केही आरोपहरू अत्यन्तै गम्भीर प्रकृतिका छन् । त्यसैले यस विषयमा मेरो धारणा स्पष्ट रूपमा राख्नु आवश्यक ठान्छु । यदि कुनै विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी सहयोग चाहियो भने, हाम्रो कलेजभित्र त्यसका लागि छुट्टै डिपार्टमेन्ट छ । हामीसँग प्रशिक्षित काउन्सिलरहरू छन् । साथै, स्टुडेन्ट सर्भिसेस डिपार्टमेन्ट पनि सक्रिय छ । अहिलेसम्म ती निकायहरूमा यस किसिमको गम्भीर गुनासो आएको थिएन । कहिलेकाहीँ एक–दुई वटा व्यक्तिगत समस्या आउँछन्, जसलाई हामीले तुरुन्तै सम्बोधन गर्दै आएका छौँ ।

आज कलेजमा करिब १५०० विद्यार्थी खुसी भएर अध्ययन गरिरहेका छन् । दुई–तीन जनाबाहेक अरूलाई यस प्रकारको समस्या छैन । यदि कसैलाई चित्त नबुझेको अवस्था आयो भने, त्यसका लागि हाम्रो स्पष्ट प्रक्रिया छ-पहिला शिक्षकसँग, त्यसपछि सर्भिस डिपार्टमेन्ट, म्यानेजमेन्ट, आवश्यक परे विश्वविद्यालय, एक्रेडिटेसन बडी वा शिक्षा मन्त्रालयसम्म जाने कानुनी र आधिकारिक बाटो खुला छ ।

यी कुनैपनि प्रक्रिया प्रयोग नगरी सिधै सामाजिक सञ्जालमा हो–हल्ला गर्नु, स्टाफ र शिक्षकलाई ह्यारेसमेन्ट गर्नु, कोठामा थुन्ने जस्ता गतिविधि गर्नु असभ्य र अस्वीकार्य व्यवहार हो । समस्या संवाद र प्रक्रियाबाट समाधान हुन्छ, अराजकता र दबाबबाट होइन भन्ने मेरो स्पष्ट विश्वास छ ।

दुबईमा अध्ययनरत विद्यार्थीहरूका लागि इन्टर्नसिपको व्यवस्थामा कलेजको भूमिका के हुन्छ ?
हाम्रो कार्यक्रमको संरचनाबारे सुरुमा स्पष्ट गर्न चाहन्छु । हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गत विद्यार्थीहरूले एक वर्ष नेपालमा अध्ययन गर्छन् र त्यसपछि दुई वर्ष दुबईमा अध्ययन गर्न जान्छन् । दुबईमा अध्ययनका क्रममा इन्टर्नसिपको विषयमा कलेजले सहजीकरण र सहयोग गर्छ, जुन हामीले गरिरहेका छौँ । अहिले पनि करिब ४० जनाभन्दा बढी विद्यार्थी दुबईमा अध्ययनरत छन्, इन्टर्नसिप गरिरहेका छन् र खुसी छन् । कलेजले गर्नुपर्ने जिम्मेवारी हामीले पूरा गरिरहेका छौँ, त्यसका सबै डकुमेन्टेसन र प्रमाणहरू हामीसँग सुरक्षित छन् ।

कतिपय विद्यार्थीहरू यति स्मार्ट हुन्छन् कि कलेजले सुझाएको भन्दा अझ राम्रो इन्टर्नसिप अवसर उनीहरूले आफैँ खोज्छन् । त्यसमा पनि उनीहरू पूर्ण रूपमा स्वतन्त्र छन् । कलेजले बाधा होइन, सहयोग मात्र गर्छ । तर, सात जना विद्यार्थी विभिन्न कारणले दुबईबाट फर्किए । फर्किनु कुनै असामान्य कुरा होइन । यस्तो अवस्था कलेजको १४ वर्षे इतिहासमा पटक–पटक आएको छ । हामी त्यस्ता विद्यार्थीहरूसँग सहकार्य गर्छौँ, उनीहरूको अभिभावकसँग छलफल गर्छौँ र समस्या समाधानका उपाय निकाल्छौँ । यो हाम्रो लागि ठुलो संकट होइन, समाधान गर्न सकिने सामान्य विषय हो ।

तर, समस्या त्यतिबेला सुरु भयो, जब केही विद्यार्थीहरूले कलेजसँग बसेर संवाद गर्ने प्रक्रिया अपनाएनन् । संवादमार्फत समाधान खोज्नुभन्दा सिधैँ सामाजिक सञ्जालमा गएर हो–हल्ला गर्ने, गालीगलौज गर्ने र कलेजलाई बदनाम गर्ने गतिविधि देखियो । हामीले ती दुई–तीन जना विद्यार्थीलाई पटक–पटक वार्ताका लागि बोलायौँ । तर, संवादलाई प्रोडक्टिभ बनाउने सट्टा, भिडियो खिच्ने, इन्टरनेटमा राखेर अपमान गर्ने प्रवृत्ति मात्र देखियो । समस्या समाधान गर्नभन्दा पनि बेइज्जती गर्ने उद्देश्य हाबी भएको जस्तो लाग्यो ।

पछि उनीहरू विभिन्न राजनीतिज्ञकहाँ समेत पुगेको कुरा सामाजिक सञ्जालबाटै थाहा भयो । हामी मध्यस्थताका लागि त्यहाँ पनि गयौँ । हाम्रो म्यानेजमेन्टबाट प्रतिनिधि गयो, कर्मचारीहरू गएका थिए । तर, त्यहाँ पनि समाधान खोज्नुभन्दा भिडियो खिचेर बदनाम गर्ने काम दोहोरियो । त्यसपछि केही अस्वभाविक र अव्यावहारिक मागहरू अगाडि आए, जसले हामीलाई झनै अचम्ममा पार्‍यो ।

हामी सधैँ रिजनएबल समाधानमा विश्वास गर्छौँ । विद्यार्थीलाई शिक्षक मन नपरे शिक्षक परिवर्तन गर्ने, कक्षाकोठामा समस्या भए सुधार गर्ने, पढ्नै मन नभए शुल्क फिर्ता गर्ने विकल्पसमेत हामीले दिएका छौँ । मैले व्यक्तिगत रूपमा एक महिना अघि नै भेटेर ‘चित्त नबुझे फी रिफन्ड लिन सक्नुहुन्छ’ भनेर स्पष्ट रूपमा भनेको हुँ । तर, ती सबै विकल्प अस्वीकार गरेर सामाजिक सञ्जालमै गालीगलौज र भ्रामक प्रचारलाई निरन्तरता दिइयो ।

आज पनि हामी जिम्मेवार संस्थाकै रूपमा संवाद र मध्यस्थताको बाटोमै छौँ । शिक्षा मन्त्रालयको मध्यस्थतामा समेत छलफलको प्रक्रिया अगाडि बढिरहेको छ । विद्यार्थी असन्तुष्ट हुनु, गुनासो आउनु स्वाभाविक हो । हामी त्यसलाई समाधान गर्छौँ। तर अपवाह फैलाएर, हल्ला गरेर र अराजक व्यवहार गरेर समस्या समाधान हुँदैन । ब्रिटिस कलेज सत्य, सम्वाद र जिम्मेवारीको बाटोबाट कहिल्यै विचलित हुँदैन भन्ने कुरामा म दृढ छु ।

कलेजमा विद्यार्थीहरुसँग लिने शुल्क संरचनामा कत्तिको पारदर्शिता छ ?
हाम्रो कलेजको शुल्क संरचना पूर्ण रूपमा पारदर्शी छ । कुन कोर्समा कति शुल्क लाग्छ, कहिले तिर्नुपर्छ भन्ने सबै विवरण लिखित रूपमा विद्यार्थीलाई पहिल्यै दिइन्छ । हामीसँग शुल्कको स्पष्ट सूची हुन्छ, र त्यसबाहेक एक रुपैयाँ पनि अतिरिक्त लिइँदैन । ब्रिटिस कलेज अन्तर्राष्ट्रियस्तरको जिम्मेवार संस्था हो । विगत १४ वर्षमा झन्डै १० हजार विद्यार्थी यहाँबाट अध्ययन पूरा गरेर गइसकेका छन्, र आजसम्म शुल्कसम्बन्धी यस्ता आरोप कहिल्यै पुष्टि भएका छैनन् । त्यसैले शुल्कबारे लगाइएका आरोप पूर्ण रूपमा गलत र आधारहीन हुन् ।

यस विषयमा शिक्षा मन्त्रालयले समेत चासो लिएर छानबिन समिति बनाउने प्रक्रिया अगाडि बढाइरहेको छ, जुन कुरालाई हामीले सकारात्मक रूपमा लिएका छौँ । हामी छानबिनबाट डराउने संस्था होइनौँ, बरु सत्य र तथ्य बाहिर आओस् भन्ने चाहन्छौँ ।

दुबईबाट फर्किएका विद्यार्थीहरूको हकमा कुरा गर्दा, फर्किसकेका दुवै समूहका विद्यार्थीहरूको समस्या समाधान भइसकेको छ । उनीहरूले चाहेको निकास कलेजले उपलब्ध गराइसकेको छ । अहिले दुबई नगएका वा नफर्किएका एक–दुई जना विद्यार्थीको विषयमा भने समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमा मात्र हल्ला गर्ने प्रवृत्ति देखियो । कलेजसँग समस्या भए त्यसका लागि आधिकारिक प्रक्रिया छ। कलेजमा कम्प्लेन गर्न सकिन्छ, विश्वविद्यालय, क्वालिटी एस्योरन्स बडी, शिक्षा मन्त्रालय, यहाँसम्म कि प्रहरी प्रशासन र अदालतसम्म जाने कानुनी बाटो खुला छ ।

तर, ती कुनै पनि प्रक्रिया नअपनाई सिधैँ सामाजिक सञ्जालमा टिकटक बनाउँदै आरोप लगाउनु, कर्मचारीको अनुमति बिना भिडिओ खिच्नु र सार्वजनिक गर्नु गैरकानुनी काम हो । यसले समस्या समाधानभन्दा पनि अर्कै नियत देखाउँछ भन्ने अनुभूति हामीलाई भएको छ ।

यति हुँदाहुँदै पनि, हामी अझै जिम्मेवार संस्थाकै रूपमा खुला छौँ । ती २–३ जना विद्यार्थी र उनका अभिभावकलाई हामीले लिखित रूपमा पनि बोलाएका छौँ । सभ्य र सम्मानजनक सम्वादमार्फत समाधान खोज्न हामी सधैँ तयार छौँ। व्रिटिस कलेजले कहिल्यै विद्यार्थीमाथि अन्याय गर्दैन, र भविष्यमा पनि सत्य, पारदर्शिता र जिम्मेवारीको बाटोबाट पछि हट्दैन ।

केही विद्यार्थी संगठनहरूको अगुवाइमा कलेज परिसरमा प्रदर्शन र तोडफोड गरेको पनि देखियो । तपाईंको यस घटनाप्रति धारणा के छ ?
दुःखको कुरा के हो भने, यत्रो वर्षदेखि शिक्षा प्रदान गर्दै आउँदा ब्रिटिस कलेजले कहिल्यै कुनै राजनीतिक संगठन वा विद्यार्थी संगठनसँग काम गर्नुपर्ने अवस्था आएको थिएन । हामी एउटा निजी शैक्षिक संस्था हौँ । यहाँ कुनै राजनीतिक वा बाह्य विद्यार्थी संघको संरचना छैन । हाम्रो काम विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने हो, र हामी सधैँ त्यही बाटोमा अघि बढेका छौँ । अन्य कार्यक्रम र कोर्सहरूमा आजसम्म यस्ता समस्या देखिएका छैनन् । अहिले एउटा कार्यक्रममा मात्र दुई–तीन जना विद्यार्थीको विषय उठेको हो, जसलाई हामी अभिभावकसँग बसेर संवादमार्फत समाधान गर्न पूर्ण रूपमा तयार छौँ ।

तर, अत्यन्तै चिन्ताजनक कुरा के भयो भने, कलेजसँग कुनै सम्बन्धै नभएका ३५–४० जनाको समूह कलेज परिसरभित्र प्रवेश गर्‍यो । त्यस समूहमा हाम्रो एक जना पनि विद्यार्थी थिएन । बाहिरका विद्यार्थी संगठनलाई कलेजभित्र ल्याएर तोडफोड गराउनु गैरकानुनी र गैरजिम्मेवार कार्य हो । १४ वर्षको इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । यसले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ ।

अहिले सामाजिक सञ्जालमा देखिएका ती दुई जना विद्यार्थीप्रति पनि हामी अभिभावककै भूमिकामा छौँ । सभ्य र सम्मानजनक तरिकाले उनीहरूको समस्या समाधान गर्न हामी अझै तयार छौँ । तर अस्वाभाविक र अव्यावहारिक मागहरू कलेजले कहिल्यै पूरा गर्दैन । उनीहरूले एक वर्ष पनि अध्ययन पूरा गरेका छैनन् र न्यूनतम शुल्क मात्र तिरेका छन् । त्यसो हुँदाहुँदै पनि हामी निकास दिन तयार छौँ । तर सामाजिक सञ्जालमार्फत बेइज्जती गर्ने गतिविधि तत्काल रोकिनुपर्छ ।

आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीहरूका लागि भिसा, ट्राभल र अध्ययनका अवसरहरू थप संवेदनशील बनेका छन् । यस्ता हिंसात्मक र अराजक गतिविधिले सम्पूर्ण नेपाली विद्यार्थी समुदायको छवि बिगार्छ । केही विद्यार्थीबाट आगजनी जस्ता धम्कीसमेत आएको सुन्दा अत्यन्तै पीडा हुन्छ । यस्ता असभ्य कार्य स्वीकार्य छैनन् । त्यसै पनि हामी संयमित छौँ, सम्झाउने र बुझाउने प्रयासमै छौँ। व्रिटिस कलेज सधैँ संवाद, जिम्मेवारी र कानुनी प्रक्रियाको पक्षमा उभिन्छ । नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...