खाँदबारी, ११ पुस । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरू भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सेकाहाको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवमा विभिन्न समुदायको झाँकी, स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेलकुद सञ्चालन गरिनेछ । साथै गाउँ अवलोकन, पर्यटकीयस्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेको सेकाहामा सामूहिक रूपमा तमु ल्होसार मनाइँदै छ । यसले जातीय सद्भाव र भाइचारा बढाउने आयोजकको विश्वास छ । आयोजक समितिका अध्यक्ष मनिराज गुरुङले महोत्सवले स्थानीय संस्कृतिको संरक्षणमात्र नभइ गाउँको आर्थिकस्तर उकास्न र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन टेवा पुग्ने जानकारी दिनुभयो । महोत्सव आगामी मङ्गलबारसम्म सञ्चालन हुने छ ।