सुर्खेत, ८ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगङ्ग नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलबार स्थलगत अवलोकन गर्नुभएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नुभएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भइ आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिनुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फुकाउन आफूले पहलकदमी लिने बताउनुहुँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजना भए पनि यसको प्रगति र निर्माणका कार्य २०६७ सालदेखि सुन्दै आएकोले अब यस परियोजना छिट्टै सम्पन्न भए तराई र यस प्रदेश अन्तर्गतका जिल्लाका नागरिकले मात्रै नभइ समग्र देशले आर्थिक, जलविद्युत् र सिँचाइ क्षेत्रमा आमूल परिवर्तन देख्न र प्रत्यक्ष रूपमा महसुस गर्न पाउने मन्त्री अर्यालले बताउनुभयो ।
आयोजनाका वरिष्ठ डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले हालसम्ममा ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो । यस परियोजनाको हाल १२ किमि लामो सुरुङ निर्माण कार्य सकेर, अहिले इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल क्षेत्रका कामहरू बाँकी रहेकाले परियोजनाको काम ढिलो भइरहेको इन्जिनियर पाठकले बताउनुभयो ।