दशवटै स्थानीय तहद्वारा किमाथाङ्का अरुण आयोजनामा लगानी गर्न सहमत

2

खाँदबारी, ७ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् ।

खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आज आयोजित छलफलमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत हिरामान वाइबाले किमाथाङ्का अरुण आयोजना मुलुककै ठुला जलविद्युत् आयोजनामध्ये एक भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजना ‘जनताको जलविद्युत् आयोजना’ को अवधारणामा आधारित रही विकास गरिने वाइबाले बताउनुभयो ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था मिलाइएको छ । जसले स्थानीयको सहभागिता र स्वामित्वलाई सुनिश्चित गर्ने उहाँको भनाइ थियो ।

छलफलमा परियोजना प्रबन्धक अशोक पण्डितले निर्माण सुरू भएको मितिबाट पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले तोकिएको समयमै आयोजना सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यति ठुलो र रणनीतिक महत्त्वको आयोजना समयमै सम्पन्न गरिनुपर्ने बताउनु हुँदै स्थानीय तह, कम्पनी र केन्द्र सरकारबीचको सहकार्यले आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्ध जलाशय प्रकृतिको यस आयोजनामा छुम्सुर गाउँ नजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्ने जनाइएको छ ।

आयोजनाको विद्युत्‌गृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा रहनेछ । यसका लागि करिब पाँच हजार ९१८ मिटर लामो र आठ मिटर व्यासको भूमिगत सुरुङ निर्माण गरिने योजना छ । साथै आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । आयोजनाको अनुमानित लागत करिब ९२ अर्ब रूपैयाँ रहेको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...