रमेश उप्रेती भन्छन्– कलाकारले गाली र ताली दुवै इन्जोय गर्नुपर्छ [भिडिओ]

5
  • आकाङ्क्षा धामी

काठमाडौँ, ७ पुस । कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिनुभएको छ । केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित हुनुभएका उप्रेती उमेरले अधबैँस नाघे पनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिनुहुन्छ । पर्दामा उहाँ अहिले पनि ‘चकलेटी हिरो’कै छविमा देखिँदै आउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उप्रेतीले अभिनयलाई कुनै निश्चित परिभाषामा बाँध्न नसकिने अनुभवको रूपमा व्याख्या गर्नुभयो । “अभिनय एउटा फिलिङ हो, चाहना र इच्छाबाट जन्मिने प्रक्रिया हो,” उहाँले भन्नुभयो, “यो मनले रोजेको पेसा हो, जसको निष्कर्ष निकाल्न सकिँदैन । सागरजस्तै गहिरो छ ।”

विदेश पलायन र कलाकारको राजनीतिक भूमिकाबारे बोल्दै उहाँले व्यक्तिगत चाहना, बाध्यता र पारिवारिक कारणले मानिस विदेश जाने गरेको बताउनुभयो । कलाकार राजनीतिमा सफल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उहाँ केही सशंकित देखिनुभयो ।

नेपालजस्तो धेरै समस्या र अनियमितता भएको मुलुकमा कलाकारको ‘सफ्ट’ स्वभावले नेतृत्वमा सफलता पाउँछ भन्नेमा आफू ढुक्क नभएको उहाँको भनाइ थियो । यद्यपि, उहाँ आशावादी दृष्टिकोण राख्नुपर्नेमा जोड दिनुहुन्छ । “अँध्यारोपछि उज्यालो आउँछ,” उहाँले भन्नुभयो, “बिग्रिएपछि बन्छ । निराश हुनु हुँदैन ।”

पछिल्ला वर्षहरूमा देखिएका असन्तोष र आन्दोलन दीर्घकालीन समस्याको परिणाम भएको उल्लेख गर्दै उहाँले त्यसलाई हल्का रूपमा लिए भविष्यमा अझ ठुलो बिस्फोट हुन सक्ने चेतावनी दिनुभयो । नेताहरू र नीति–निर्माताहरू सचेत र जिम्मेवार हुनुपर्ने उहाँको आग्रह छ ।

नेपाली फिल्म क्षेत्रलाई अझै ‘उद्योग’ भन्न नसकिने उहाँको धारणा छ । सरकारले सिनेमालाई उद्योगका रूपमा परिभाषित नगरेको, बजेट र नीतिगत समर्थन नदिएकोमा उहाँले गुनासो गर्नुभयो । “मूल्य नपाएको गहना फलामजस्तै हुन्छ,” उहाँले भन्नुभयो, “आज कलाकारको अवस्था पनि त्यस्तै छ ।”

कलाकारितामा सफल हुन कुनै निश्चित सूत्र नहुने बताउँदै उप्रेतीले मनदेखि लागे एक न एक दिन सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रविधिको विकाससँगै कलाकारको आम्दानीका स्रोत बढेको भए पनि करियर सधैँ स्थिर नहुने उहाँले स्वीकार्नुभयो । “हरेक शुक्रबार कलाकारका लागि चुनौती हुन्छ,” उहाँले भन्नुभयो, “फिल्म चल्ला कि नचल्ला भन्ने डर सधैँ हुन्छ ।”

आलोचना र प्रशंसालाई समान रूपमा लिन सक्ने कलाकार मात्र दीर्घकालीन रूपमा टिक्ने उहाँको अनुभव छ । “गाली र ताली दुवै इन्जोय गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “गालीले सुध्रिने मौका दिन्छ ।”

आफू हरेक दिन नयाँ र चुनौतीपूर्ण भूमिका खोजिरहने कलाकार भएको बताउँदै उप्रेतीले सन्तुष्टिको क्षणमै कलाकारको यात्रामा विराम लाग्ने धारणा राख्नुभयो। फिल्मको व्यापारिक सफलताभन्दा पनि काम गर्दा आउने सन्तुष्टिलाई उहाँले प्राथमिकता दिनुभयो ।

युवापुस्तालाई सन्देश दिँदै उहाँले जीवनलाई तनावमुक्त र इमानदारीका साथ बाँच्न आग्रह गर्नुभयो । “यो जीवन एकपटक मात्रै पाइन्छ,” उहाँले भन्नुभयो, “आफूलाई जे मन लाग्छ, त्यहीँअनुसार जीवन जिउनुहोस् ।”

नेपाली दर्शकको रुचि नबदलेको बताउँदै उप्रेतीले पारिवारिक ड्रामा, कमेडी र एक्सन सधैँ चल्ने जनाउनुभयो । नेपाली फिल्म सानो बजेटमा बन्ने भएकाले दर्शक पनि त्यहीअनुसार अपेक्षा लिएर हल जाने उहाँको भनाइ छ ।

आफू अभिनित नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेको जानकारी दिँदै उहाँले यसले हरेक पुस्तालाई प्रतिनिधित्व गर्ने बताउनुभयो । “फिल्मले समाज परिवर्तन होइन, इन्टरटेन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “दर्शकले पैसा असुल भयो भन्ने महसुस गरे भने त्यही नै हाम्रो सफलता हो ।”

निर्देशनमा जाने योजना नरहेको स्पष्ट पार्दै उप्रेतीले आफू कलाकारकै रूपमा राम्रो कथा र टिमसँग काम गर्न चाहने बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...