- मधु शाही
काठमाडौँ, ६ पुस । बेलायतमा तपाई के गर्नुहुन्छ ? धेरैको बुझाई हुनसक्छ, काम गर्ने अनि कमाउने । तर, दुई दशकदेखि बेलायत (युके)मा बस्दै आउनुभएकी पुनम गुरुङका सन्दर्भमा यो बुझाइ विपरीत छ । उहाँ, यो प्रश्नमा सधैँ एउटै उत्तर दिनुहुन्छ, “बेलायतमा अरुले कमाउँछन्, म समाज सेवा गर्छु । अरुलाई सहयोग गर्छु, त्यो पनि निःस्वार्थ ।”
काठमाडौँमा जन्मे हुर्किनुभएकी उहाँ बिहेलगत्तै २३ वर्ष पहिले श्रीमान्सँग बेलायत पुग्दा राम्रोसँग उभिएर बोल्नसक्ने आत्मबल थिएन । सुरुका केही वर्ष परिवारको हेरचार गर्ने र कोठामा बस्दै बेलायतको जीवन बित्यो । बेलायतको जीवनशैलीसँग सुरुमा भिज्न निकै कठिन थियो ।
“न भाषा मिल्छ, न खानपान र जीवनशैली । आप्रवासन बस्दाको सुरुका दिनमा मानसिक समस्या झेल्नुपर्यो । यद्यपि श्रीमान्को साथ र सहयोगले बेलायतको सामाजिक परिवेशसँग भिजेर सामाजिक गतिविधिमा घुलमिल हुन थालेँ । न घुम्न सक्थे न बोल्न”, गुरुङले २३ वर्षअघि बेलायत जाँदाको क्षण सम्झँदै भन्नुभयो, “अहिले समाज सेवामा सक्रिय छु । आप्रवासनमा समस्या भोग्नुभएका जो कोही हुनुहुन्छ, मलाई सहयोगको आश गर्दै सम्झिनुहुन्छ । म सहयोग गर्न पाउँदा खुसी हुन्छ ।”
पुनमको निःस्वार्थ सहयोग गर्ने औपचारिक यात्रा क्यान्सर पीडितलाई आर्थिक सहयोग जुटाउने कामबाट सुरु भयो । सन्, २०१३ मा क्यान्सर रिर्सच युकेमा उहाँले क्यासर पीडितलाई आर्थिक सहयोग जुटाउने दौडमा भाग लिनुभयो । मोटो ज्यान दौडिन सजिलो थिएन तर, आफ्नो थोरै पहलले कसैको स्वास्थ्यमा योगदान मिल्छ भने प्रयास किन नगर्ने ? भन्ने मनसायमा उहाँले पाँच किलोमिटर दौडेर उठेको जति पनि रकम थियो, त्यो क्यान्सर रिर्सच युकेलाई दिनुभयो ।
त्यसपछि निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आउनुभएकी पुनम अहिले क्यान्सर रिसर्च युकेको सद्भावनादूतका रूपमा जिम्मेवारी सम्हाल्दै क्यान्सरविरुद्ध जनचेतना अभियानमा सक्रिय हुनुहुन्छ ।
दिनभरि घरमै बस्ने नेपाली समुदायका दिदीबहिनीलाई यस अभियानमा जोड्न थाल्नुभयो । ‘तमु धि’ संस्थामा आबद्ध भइ त्यसैभित्रको आमा समूहको अध्यक्ष बनेर आफ्नो नेतृत्व क्षमता विकास गर्न थाल्नुभयो । “आप्रवासन भएपछि आफ्नो देशको झनै माया र सम्झना आउने रहेछ”, उहाँले भन्नुभयो, “हामी दिदिबहिनी जम्मा भएर, एक कप कफीको मूल्य बराबर रकम जम्मा गरी समूह बनायौँ । रकम सङ्कलन गर्न थाल्यौँ ।”
यो आमा समूहले धेरै महिलालाई बोल्न र आफ्नो धारणा प्रष्टसँग राख्नसक्ने संस्कृतिको विकास गरेको गुरुङले बताउनुभयो । यसको उपजका रूपमा उहाँको लोकप्रियता यतिसम्म बढ्दै गयो कि उहाँ सन्, २०१९ मा गैरआप्रवासी नेपाली सङ्घ (एनआरएन) युकेको अध्यक्षमा निर्वाचत हुनुभयो । योसँगै उहाँ एनआरन युकेको प्रथम महिला अध्यक्ष हुने अवसरसमेत पाउनुभयो । “आमा समूहले नेतृत्वको महत्त्व बुझायो र समाज सेवाले लोकप्रियता बढाएको हुँदा आफू एनआरएनको अध्यक्षको पदसम्म पुग्नसक्ने भएको हुँ”, उहाँले भन्नुभयो ।
महिलालाई नेतृत्व गर्नसक्ने उच्च पदमा पुग्न भने त्यति सजिलो नहुने गुरुङको अनुभव छ । निर्वाचित भइसकेपछि पनि कार्यशैली र कार्यसम्पादनमा थुप्रै चुनौतीको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतया जनुसुकै क्षेत्रको उच्च पदमा भिड्न पुरुषलाईभन्दा महिलालाई धेरै कठिनाइको सामना गर्नुपर्दो रहेछ ।”
नेपालमा छ महिना बिदा बस्दा यहाँको क्यान्सर अस्पताल पुगेर क्यान्सरविरुद्धको जनचेतना अभियानमा सहभागी हुनुभएकी गुरुङ बुबा क्यान्सरकै कारण बित्नुभएको स्मरण गर्नुभयो । क्यान्सर लाग्नै नदिन पहिलो प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले यदि लागिहाले सकारात्मक सोचेर आत्मबल बढाउनुपर्ने बताउनुभयो ।
बिदामा नेपाल आउनुभएकी पुनमले क्यान्सरपीडित बुबालाई गुमाउनुपर्यो । उहाँले यो रोग लाग्नै नदिन सचेतना अतिआवश्यक रहेको बताउँदै आउनुभएको छ । नेपाल आएका बेला विभिन्न अस्पतालमा पुगी क्यान्सरविरुद्धको अभियानलाई सन्देशमूलक बनाउन खटिनुभयो । उहाँका अनुसार बेलायतमा प्रायः हरेक घरैपिच्छे एक जना क्यान्सरपीडित रोगी भेटिएकै हुन्छन् ।
दैनिक काममा खटिनुपर्ने बाध्यता भएका परिवारले क्यान्सरपीडितको मनबोल बढाउने समय हुँदैन । त्यस्तोबेला पुनम सकेसम्म क्यानसरपीडितको घर पुगेर उहाँहरूलाई रोगसँग लड्नसक्ने क्षमता बढाउन हिम्मत दिने काम गर्दै आउनुभएको छ ।
“म युकेमा काम गर्दिन, फुर्सद पाउनासाथ बुबाआमा वा बुढाबुढी र जो समस्यामा परेको छ उहाँहरूलाई समय दिन पुग्छु”, उहाँले भन्नुभयो, “उहाँहरू पनि समय पाएर खुसी हुनुहुन्छ, म उहाँहरूको खुसी देखेर झनै सेवा गर्न प्रेरित हुन्छु । सेवामै आनन्दित हुन्छु ।”
पुनमको नेतृत्वदायी यात्रा ‘तमु धि’ आमा समूह, एनआरएन हुँदै विश्वप्रसिद्ध सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड–२०२३’ को एम्बास्डरमा पनि मनोनीत हुनुभयो । मिस वल्र्डमा एम्बास्डर हुनुभएपछि मिस वर्ल्डको टिमले उहाँलाई सन्, २०२३ को ‘मिस वेल्स’ सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी दिएको थियो ।
पुनमले नेपाली मूलबाट सुन्दर प्रतियोगिताको यति फराकिलो क्षेत्रमा निर्णायकको जिम्मेवारी पाउनु आफैँमा महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँका अनुसार आप्रवासनले चुनौतीसँगै अवसरका थुप्रै ढोकाहरू खुल्छन् । “त्यसका लागि सङ्घर्ष भने गरिरहनु पर्छ । म जहाँ पुगे पनि नेपाली र नेपालीपनसँगै लैजान्छु”, उहाँले भन्नुभयो । –रासस