धनकुटा, ६ पुस । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ ।
स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड रूपैयाँ लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठुलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किबी बजारमा नबिक्ने समस्या छ । तर, अहिले वाइन बनाउन उद्योगले ती सबै खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिनुभयो ।
सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आउनुभएका तामाङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिनुभयो । हाल प्रतिकिलो ५० देखि ८० रूपैयाँसम्ममा उद्योगलाई किबी बेच्दै आएका गुरुङले किबीको मूल्य प्रतिकिलो एक सयभन्दा बढी नभएसम्म किसान मर्कामा परिरहेको हुँदा प्रत्यक्ष अनुदान दिएर किसानलाई राहत दिनुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी, विगत १५ वर्षअघि तोरीबारी गाउँमा ३० रोपनीमा किबीखेती गर्दै आउनुभएका तिलबहादुर पौडेलले उद्योग स्थापनाले बजारको समस्या समाधान भएको जानकारी दिनुभयो । “भाउ तलमाथि त्यस्तै हो तर उद्योग सञ्चालनमा आएपछि ठूलो राहत भएकोछ”, पौडेलले भन्नुभयो । उद्योग स्थापनाले सो गाउँका ७० भन्दा बढी किसान लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।
वार्षिक १५ लाख रूपैयाँसम्मको किबी बेच्दै आउनुभएका पौडेलले उद्योग बनेपछि काठमाडौँ, विराटनगर, झापालगायत स्थानमा किबी बेच्नुपर्ने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । नगरको यस वडालाई छ वर्षअघि किबी पकेट क्षेत्र घोषणा गरेपछि वडाका तोरीबारी, घुमाउने, माझखर्क, खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए ।
किबीको बढ्दो उत्पादनसँगै बजारको समस्या भइरहेका बेला उद्योग स्थापनापछि गाउँका करिब एक सय किबी किसानलाई राहत मिलेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो । विसं २०७४ देखि एक सय रोपनीमा किबीखेतीसहित वसन्तपुर तीनजुरे बेभ्रेज प्रालिमार्फत आउने माघबाट ‘तीनजुरे बगान’ नामक किबी वाइन ल्याउने तयारी पूरा भएको उद्योग सञ्चालक दुर्गामणि पौडेलले जानकारी दिनुभयो । यो वर्ष आठदेखि १० टन किबी खपत सुरु गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशभरिका ५० टन किबी खपत गर्ने उहाँले जानकारी दिनुभयो । –रासस