मोरङ, ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले तीन लाख रूपैयाँबाट सुरुवात गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी बोइलर कुखुरा छन् ।
विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक ४०–५० हजार रूपैयाँ आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहनुभएको छ । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन् । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।
बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउनुहुन्छ । बिहान ३ बजे गाईको गोठमा पसेका तिवारी ५ बजे दुधको क्यानसँगै पथरी बजारमा भेटिन्छन् । गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी बोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दुध दिन्छ । तिवारी दुध बिक्रीका लागि बिहान ५ र बेलुका ४ बजे पथरी बजारमा पुग्ने गर्नुहुन्छ । युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुँदै गएको छ । बोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि तीन लाख रूपैयाँ खर्च गरेर गाईको गोठ बनाउनुभयो ।
सुरुवाती दिनमा न त ठुलो पुँजी थियो न त ठुलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन् । श्रीमती र दुई छोरीको साथ पाउनुभएका उहाँले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दुध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्नुहुन्छ । बिबिएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानीतिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन् ।
तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दुधले नयाँ ऊर्जा दिन्छ । तिवारी मुस्कुराउँदै भन्नुहुन्छ, “दुध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ ।” कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गाह्रो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।
सरकारी अनुदानको आशा नराख्नुभएका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दुध दुहुने मेसिन आवश्यक परेको बताउनुहुन्छ । नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राख्नुभएको छ । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउनुहुन्छ । –रासस