एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

0

काठमाडौँ, ५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताउनुभएको छ ।

शनिबार नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उहाँले एमडिएमएस भ्रष्टाचारको जालोभित्र जकडिएको र त्यस जालोलाई च्यात्नैपर्ने बताउनुभयो ।

“एमडिएमएसको कुरा म मन्त्री भएर आउनेबित्तिकै सोधे, बुझे, पढे । भष्ट्रचारको जालोभित्र जकडिएर बसेको रहेछ । त्यो भष्ट्रचारको जालोभित्र भएको एमडिएमएसलाई त्यो जालो च्यात्यौँ भनेर खोजेको स्वस्थानी ब्रतकथामा महादेवले झुपडी च्यातेर सुनै सुनको महल बनाए जस्तो त हुँदो रहेनछ,” उहाँले भन्नुभयो, “अनि मैले अध्ययन गरे त्यो समय लाग्छ होला तर त्यो च्यात्न चै पर्छ ।”

प्रविधिमन्त्री खरेलले मोबाइल व्यवसायले देशको आर्थिक गतिशीलता बढाउनुका साथै सामाजिक र पारिवारिक सम्बन्ध जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मन्त्री खरेलले मोबाइल व्यवसायमा अधिकांश युवा संलग्न रहेको र यस क्षेत्रमार्फत करिब १ लाख जनाले रोजगारी पाएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब ४ हजार मोबाइल व्यवसायी सक्रिय छन् ।

मन्त्री खरेलले मोबाइल व्यवसाय सूचना प्रविधि मन्त्रालयसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूको भूमिकाप्रति नेपाल सरकार, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

एमडिएमएस सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खरेलले यसबाट सरकारलाई प्राप्त हुने राजस्व र व्यवसायीहरू दुवै स्पष्ट हुने बताउनुभयो ।

“त्यो च्यात्न पर्छ यस अर्थमा कि हामीले च्यात्यौँ भने सरकारलाई आउने राजस्व स्पष्ट हुन्छ, व्यवसायीहरु स्पष्ट हुन्छन् । म अरु जस्तो नेपाललाई सिंगापुर बनाउछु भन्दिनँ मसँग २ महिना मात्र छ यो ६ महिनाको सरकार हो २ महिना समय बाँकी छ म कति सक्छु तपाईहरुले उठाउनुभएका बुद्धागतरुप मागहरु छन,” उहाँले भन्नुभयो, “यो समयभित्र सकेसम्म व्यावहारिक सुधार गर्ने प्रयास गर्छु ।”

उहाँले नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय नेतृत्वलाई मन्त्रालयमा आमन्त्रण गर्दै व्यावहारिक समस्याहरू लिएर छलफलमा आउन आग्रह गर्नुभयो। “सम्बन्धित निकायसँगै बसेर समस्या समाधान गर्ने प्रयास सरकार र व्यवसायी मिलेर गरौँ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...