- आकाङ्क्षा धामी
काठमाडौँ, ३ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल हुनुभएको हो ।
महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले पोखरेललाई १ हजार ९९ मतको अन्तरले हराउनुभएको हो । लगातार तीन महाधिवेशन जित्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ पूरा गर्नुभएको छ ।
यसअघि २०७१ साल असारमा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनमा ओलीले तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनमा ओलीले १ हजार ४७ मत प्राप्त गर्दा नेपालले १ हजार ३ मत पाउनुभएको थियो ।
२०७८ साल भदौमा एमाले विभाजनपछि चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहनुहुन्थ्यो । तर, पूर्वउपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी दिएपछि मतदान भएको थियो । उक्त निर्वाचनमा ओलीले १ हजार ८३७ मत प्राप्त गर्दा रावलले २२३ मत पाउनुभएको थियो ।
२०७१ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि अध्यक्षकै भूमिकामा हुनुहुन्थ्यो ।
को हुन् ओली ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओलीको जीवन संघर्षपूर्ण छ । राजनीतिमा उहाँ ‘केपी ओली’ नामले परिचित हुनुहुन्छ । समर्थकहरूले उहाँलाई प्रेमपूर्वक ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।
२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिनुभएका ओली सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा उदाउनुभएको हो । उहाँका पिता मोहनप्रसाद ओली ज्योतिषी हुनुहुन्छ । सानै उमेरमा आमाको निधन भएपछि उहाँ हजुरआमा राममाया ओलीको संरक्षणमा हुर्किनुभयो ।
जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास क्षति भएपछि उहाँ हाल श्रीमती राधिका शाक्यसँग भक्तपुरको गुन्डुमा बस्दै आउनुभएको छ । एसएलसीसम्म अध्ययन गर्नुभएका ओली नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा परिचित हुनुहुन्छ । उहाँ २०७२, २०७४, २०७८ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भइसक्नुभएको छ । रुखो र स्पष्ट अभिव्यक्तिका कारण उहाँ बेलाबेला विवादमा पनि आउने गर्नुभएको छ ।
राजनीतिक यात्रा
२०२३ सालमा मार्क्सवादी अध्ययन दलबाट राजनीतिक प्रशिक्षण लिनुभएका ओली २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध हुनुभयो । २०२६ सालमा पार्टी सदस्यता पाएपछि उपसचिवको जिम्मेवारी सम्हाल्नुभयो ।
२०२९ सालमा उहाँ झापा आन्दोलन कमिटीका प्रमुख बन्नुभयो । चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये ओली एक हुनुहुन्थ्यो । १७ वर्षको उमेरमै वामपन्थी आन्दोलनमा सक्रिय हुनुभएका उहाँ २२ वर्ष नपुग्दै १४ वर्ष जेल जीवन बिताउन बाध्य हुनुभयो ।
२०२७ फागुन १६ गते पहिलोपटक झापाबाट गिरफ्तार भएका ओली पटक–पटक गरी १० भन्दा बढी पटक पक्राउ पर्नुभयो । उहाँले रौतहट, वीरगञ्ज, काठमाडौँ, नख्खु, पोखरा, स्याङ्जा लगायतका जेलमा लामो समय बिताउनुभयो । अन्ततः २०४४ असार ११ गते भद्रगोल जेलबाट रिहा हुनुभएको थियो ।
खुला राजनीति र पार्टी भूमिका
जेलमुक्त भएपछि २०४७ जेठ १ गते उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । २०४९ देखि २०७१ सम्म उहाँ एमाले स्थायी कमिटी सदस्य रहनुभयो ।
२०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चाको तर्फबाट लुम्बिनी अञ्चलको नेतृत्व गरेका ओलीले २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीसँग मिलेर जनताको बहुदलीय जनवाद (जबज) निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।
२०५९ सालको सातौँ महाधिवेशनमा उनले कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणसम्बन्धी वैचारिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई हाल अन्य दलहरूले समेत अंगीकार गरेको उहाँ दाबी गर्नुहुन्छ ।
संसदीय यात्रा
२०२६ : एक वर्षमै १० पटक पक्राउ
२०५१ : गृहमन्त्रीमा नियुक्त
२०५६ : संसदीय दलको उपनेता
२०६३ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
२०७० : एमाले संसदीय दलको नेता
२०७२ : प्रधानमन्त्रीमा निर्वाचित
२०७४ : दोस्रो पटक प्रधानमन्त्री निर्वाचित
२०७८ : तेस्रो पटक प्रधानमन्त्री
२०७८ : पुनः पार्टी अध्यक्ष निर्वाचित
२०८१ : चौथो पटक प्रधानमन्त्री
ओलीले प्रतिनिधिसभा, संविधान सभा, मन्त्रिपरिषद् तथा विभिन्न आयोग र समितिमा रहेर नेपाली राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । -नेपाल न्यूज बैंक