पुराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ [भिडिओ]

6
  • खेमराज सापकोटा

विराटनगर, ३ पुस । नेपाली कांग्रेसका कोषाध्यक्ष, शिक्षासेवी र व्यवसायी उमेश श्रेष्ठले कांग्रेसभित्र अब पुरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उहाँले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राख्नुभयो । उहाँले पछिल्लो समय देखिएको जेनजी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताउनुभयो ।

श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो । हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन् । त्यसैले विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक रहेको उहाँको जोड छ । सरकारले व्यवसाय गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने भन्दै उहाँले उद्योगी–व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्य दुवै जरुरी भएको उल्लेख गर्दै गुट–उपगुटभन्दा माथि उठेर निर्णय लिनुपर्ने बताउनुभयो ।

श्रेष्ठले पछिल्लो समय कृषिमा ठुलो सम्भावना देखेर सक्रिय भएको बताउनुभयो । नेपालले वार्षिक चार खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात गरिरहेको अवस्थालाई चिन्ताजनक ठहर गर्दै उहाँले आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा जानु आवश्यक रहेको बताउनुभयो । हाइब्रिड बाली, जोन अवधारणा र निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

कृषिमा थप मूल्य सिर्जना गर्न कोल्ड स्टोरेज अत्यावश्यक रहेको भन्दै उहाँले चितवनमा अत्याधुनिक मल्टी–चेम्बर कोल्ड सेन्टर निर्माण भइरहेको जानकारी दिनुभयो । काठमाडौँ, भैरहवा, इटहरीलगायत स्थानमा पनि यस्ता परियोजना विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

श्रेष्ठले राजनीतिलाई पद र चुनावभन्दा पनि नीतिगत सुधार र संस्थागत मजबुतीको माध्यमका रूपमा हेर्ने दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । शिक्षा, उद्यमशीलता र कृषि नै नेपाल समृद्धिको मुख्य आधार भएको उहाँको निष्कर्ष छ । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...