काठमाडौँ, २ पुस । नेकपा (एमाले)का नेता महेश बर्तौलाले एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
बुधबार एमाले महाधिवेशनस्थल भृकुटीमण्डपबाट उहाँले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ । तथापि, पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजे पनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढंगबाट अगाडि बढ्छौँ ।”
जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उहाँले स्पष्ट गर्नुभयो ।
एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ ।
एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो । “एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पूरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै, प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् । एमालेको यो नियमित प्रक्रिया हो,” उहाँले भन्नुभयो ।
जनताको बहुदलीय जनवादको कार्यनीति अवलम्बन गर्दै प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने एमालेको अभ्यास पुरानै रहेको उहाँले उल्लेख गर्नुभयो ।
“नेकपा (एमाले) जनवादको कार्यनीतिलाई स्वीकार गरेर प्रतिस्पर्धाको बाटो श्रेष्ठ आसन गर्ने पार्टी भएकाले यो नियमित र सामान्य राजनीतिक प्रक्रियाहरु हो । निर्वाचन भनेको जो जित्नुहुन्छ, नेतृत्व गर्नुहुन्छ पराजित हुनेहरुलाई पनि साथमा लिएर सबैलाई एकतावद्ध ढंगबाट पार्टी अगाडि बढाउने कुरा हाम्रो नियमित प्रक्रिया हो,” उहाँले भन्नुभयो ।
यस्तै, अर्का नेता महेश बस्नेतले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियाअन्तर्गत भएको चुनावमा विजयी भएका सदस्यहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको बताउनुभयो । पराजित भएका सदस्यहरूलाई पनि पार्टीभित्र कुनै आग्रह बिना, क्षमताअनुसार जिम्मेवारी दिइ समावेश गरिने उहाँले बताउनुभयो ।