- प्रमिला कार्की
काठमाडौँ, १ पुस । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले सरकारले चुनाव गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे पनि सो अनुसार काम नभएको प्रतिक्रिया दिनुभएको छ ।नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उहाँले चुनावका लागि बनाइएको सरकारले चुनावबाहेक अन्य काममा समय खर्च गर्नु उचित नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चुनावका लागि बनेको सरकार चुनावमै केन्द्रित हुनुपर्छ । अरू निर्णयहरूतिर धेरै अल्मलिनु हुँदैन । तर, चुनावमा केन्द्रित नभएर अरू–अरू विषयमा बढी समय खर्च गरेको पाइन्छ, यो सर्वदा बेठिक हुन्छ । चुनावलाई हरतहले सफल पार्नतिर लाग्नुपर्छ । तत्कालका सेवा प्रवाह र नगरी नहुने नियुक्तिहरू गर्नुपर्छ, नगर्ने होइन । तर, मुख्य काम भनेको निर्वाचन नै हो । सरकार निर्वाचनमा केन्द्रित नभएजस्तो लागिरहेको छ ।”
अहिले नेपाल असाध्यै ठुलो संकटको स्थितिमा रहेको उहाँले बताउनुभयो । राष्ट्रियता, स्वतन्त्रता अनि त्यसैगरी नेपाली जनताको आत्म–निर्णयको अधिकार खतरामा रहेको उहाँले बताउनुभयो ।
कम्युनिस्ट पार्टीको एकता अपरिहार्य
देश र जनताको अधिकतम हितलाई अगाडि बढाउन र संविधानले निर्दिष्ट गरेको समाजवादी आधार तयार पार्नका लागि कम्युनिस्ट पार्टीको एकता जरुरी रहेको उहाँले औँल्याउनुभयो । सिद्धान्तका कुरामा मतभेद भए पनि महाधिवेशनमार्फत त्यसको समाधान हुने उहाँले बताउनुभयो । सिद्धान्तका विषयमा महाधिवेशनसम्म छलफल चलाएर अन्तिम संश्लेषण गर्छौँ । हालको त्यसको धेरै ठुलो असर र प्रभाव छैन । अब त्यो छुट्टिएर पर्ने क्षतिभन्दा कैयौँ गुणा बढी एकताले प्रभाव पारेको छ,” उहाँले अगाडि भन्नुभयो, “अहिले प्रदेशमा भएका एकताका सन्देश सभाहरूहरुले राम्रो प्रभाव पारेको छ ।”
अहिले एकताको प्रयासहरु जिल्ला–जिल्लामा तीव्र र घनिभूत रूपमा भइरहेको बताउँदै सापकोटाले जनताको अघातपूर्व आकर्षण रहेको बताउनुभयो । “हाम्रो एकताले जनतामा भरोसा र आशा पैदा भएको छ । अब यसलाई अझ विस्तार गर्छौँ । कम्युनिस्ट पार्टीको पुनर्गठनको प्रक्रिया पूर्ण गराएर बृहत् वामपन्थी एकीकरण पनि आवश्यक देखेका छौँ । त्यसका साथसाथै देशभक्त प्रगतिशील मोर्चाको पनि आवश्यकता छ, जसमा देशभक्त पार्टीहरू, संघ–संस्थाहरू, जातीय संगठनहरू यी सबै मिलाएर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने योजना पनि छ,” उहाँले भन्नुभयो ।
कम्युनिस्ट पार्टीहरुबीचको एकता चलिरहँदा नेकपा (एमाले)सँग कुनै संवाद नभएको उहाँले बताउनुभयो । “तत्काल पार्टीगत हिसाबले एमालेसँग छलफल भएको छैन । भोलि हुनसक्छ । नेतृत्व परिवर्तन आदिका कुराहरू अघि बढे भने एकता हुनसक्छ । अहिले संस्थागत रूपमा एमालेसँग पार्टी एकताका लागि कुरा भएको छैन । अरू पार्टीहरूसित सघन रूपमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।
चुनाव अपरिहार्य, हामी तयारीमा छौँ
नेता सापकोटाले आगामी आम निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट सकेसम्मको पहलकदमी लिइरहेको पनि जानकारी दिनुभयो । “निर्वाचनका लागि जिल्ला–जिल्ला, पालिका–पालिकाहरूमा जनपरिचालन भइरहेका छन् । सन्देश सभा पनि भइरहेको छन् । हामीले एकैसाथ पार्टी एकताको महत्त्व, ऐतिहासिकता, आवश्यकता यी सबैको बारेमा र चुनावको तयारी पनि एकैसाथ अगाडि बढाइरहेका छौँ । हाम्रो तर्फबाट निर्वाचनको वातावरण बनाउन अधिकतम प्रयत्न गरिरहेका छौँ, पहल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “तर, सरकारले जसरी राजनीतिक पहलकदमी लिनुपथ्र्यो, त्यो चाहिँ लिइरहेको छैन । चुनावका लागि हामी पूर्ण तयारीमा छौँ र घोषित मितिमै हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ ।”
नेता सापकोटाले चुनावका लागि बनाइएको सरकार चुनावमै केन्द्रित हुनुपर्ने पनि धारणा राख्नुभयो । “अरू निर्णयहरूतिर धेरै अल्मलिनु हुँदैन,” उहाँको भनाइ छ ।
सरकार सेलिब्रेटी बन्नु हुँदैन
नेता सापकोटाले वर्तमान सरकारका मन्त्रीहरुको कार्यशैली प्रभावकारी नदेखिएकोमा असतुष्टि व्यक्त गर्नुभयो । “सरकारका मन्त्रीहरुको कार्यशैली कमजोर देखा परेको छ । अलिक बढी सेलिब्रेटी टाइपको देखिन्छ । जेनजी आन्दोलनले बहुआयामिक सन्देश दिएको छ र देशमा बहुआयामिक संकट छ भन्ने कुरा उजागर पनि गरेको छ । यी सबैको पछाडिको मुख्य कारण के भने विचार शून्यता, विचारको रिक्तता, विचारहीनता, सिद्धान्तहीनताका कारणले पैदा भएको हो । यसको मर्म सरकारले बुझ्नुपर्छ, जेनजीको भावना बुझनुपर्छ,” उहाँले अगाडि भन्नुभयो, “जेनजी आन्दोलनले एउटा सकारात्मक कुरा के गरेको छ भने सबैलाई रूपान्तरणका लागि प्रेरित गरेको छ । र एकप्रकारले बाध्य पनि बनाएको छ । नवयुवाहरूमा राजनीतिप्रति चासो बढेको छ । यस्तो बेला सरकार संवेदनशील बन्नुपर्छ ।”
अराजकता बढ्ने जोखिम
सबै कुरा सकारात्मक हुँदाहुँदै राम्रो व्यवस्थापन हुन नसक्दा अराजकता बढ्दै जाने खतरा पनि रहेको उहाँले औँल्याउनुभयो । आन्तरिक वा बाह्य रूपमा चलखेलका सम्भावना बढेर जाने भएकाले राष्ट्रिय एकताको आवश्यक्ता पर्ने उहाँको धारणा थियो ।
“यस्तो जोखिमयुक्त अवस्थामा राष्ट्रिय एकताका लागि सरकारले पनि पहल गर्नुपर्छ । राजनीतिक पार्टीहरूले पनि जिम्मेवारीपूर्वक पहलकदमी लिनुपर्छ । चुनावले नै निकास दिने भएकाले जनादेश लिएर जेनजीले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपाली जनतालाई विश्वासमा लिएर एकताबद्ध बनाउने हो भने देखिएका समस्याहरू समाधान हुन्छन् ।”
शुद्धीकरणको आवश्यकता
जहाँ चुनौती आउँछ, त्यहाँ अवसर पनि हुन्छ, त्यसैले चुनौती झेलिरहेको राजनीतिक दलहरुका लागि रूपान्तरणका र शुद्धीकरणका लागि अवसर भएको उहाँको धारणा थियो । “अहिलेको आवश्यकता भनेको हरेक पार्टीमा शुद्धीकरण हो । पार्टीमा मात्रै होइन, राज्यमा पनि शुद्धीकरणको आवश्यकता छ । राज्यमा मात्रै होइन, आन्दोलनको पनि शुद्धीकरण गर्नुपर्ने भएको छ । विगतका जस्तैगरी आन्दोलन गरेर हुँदैन,” उहाँले भन्नुभयो, “यतिबेला विज्ञान र प्रविधिले दिनप्रतिदिन चमत्कार गरिरहेको छ । प्रविधिको विकास आश्चर्यजनक ढंगले बढिरहेको छ । त्यसैले परम्परागत तरिकाले अगाडि बढ्दा गन्तब्यमा पुग्न सकिँदैन । प्रविधि र जेनजी आन्दोलनबाट शिक्षा लिएर र हालको धक्कालाई आत्मसात गरेर रूपान्तरणका लागि तयार हुनुपर्छ ।” राष्ट्रिय जीवनका सबै पक्ष रूपान्तरित हुनुपर्ने र सबैभन्दा बढी रूपान्तरित राजनीतिक दलहरु हुनुपर्ने उहाँको भनाइ छ ।
नयाँ जनादेश उत्तम विकल्प
देशको हालको परिस्थिति अन्त्यका लागि मुख्य कार्यनीति भनेको चुनाव नै भएको उहाँको बुझाइ छ । संगठन निर्माण, विकास, विस्तार नभइ चुनावमा केन्द्रित हुनुपर्ने उहाँको सुझाव छ । “तत्कालीन कार्यनीति, रणनीति भनेको समाजवादको आधार तयार पार्ने हो । संविधानमा प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनेको छ । त्यस्तैगरी समाजवादउन्मुख राज्य व्यवस्था भनेको छ । संविधानले नै निर्दिष्ट गरेको कुराहरुमा हामी लाग्नुपर्छ तर तत्कालको तात्कालीन कार्ययोजना अथवा हाम्रो लक्ष्य भनेको चाहिँ चुनाव नै हो,” उहाँले भन्नुभयो ।
अहिले संविधान एक प्रकारले कोमामा पुगेकाले संविधानलाई कोमाबाट निकाल्न जरुरी रहेको उहाँले बताउनुभयो । संसद पुनःस्थापना भयो भने संविधान ट्रयाकमा आउने भन्दै नेता सापकोटाले मुख्य कुरा भनेको नयाँ जनादेशमै जानुपर्ने औँल्याउनुभयो ।
“यतिबेला नयाँ जनदेशमा जाने कुरा नै पहिलो विकल्प हो । अथवा उत्तम विकल्प हो । किनभने सदन विघटन भइसकेको छ । यसलाई पुनःस्थापना गर्नेभन्दा पनि नयाँ जनदेशमा जाने विकल्प नै राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।
संसद पुनःस्थापना भयो भने संविधान ट्रयाकमा त आउँछ तर संकट हल नहुन सक्छ । त्यसैले नयाँ जनादेश उपयुक्त हुने उहाँको बुझाइ छ । यतिबेला दर्शन, विचार, सिद्धान्तले नभइ दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजनाका विषयमा बहस गर्नुपर्छ भन्ने आफ्नो बुझाइ भएको सापकोटाले बताउनुभयो । –नेपाल न्यूज बैंक