एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

18
  • भीष्मराज ओझा

चितवन, १ पुस । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदै छ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।

वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

जम्मा २५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब तीन करोड रूपैयाँ खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब ३५ हजार रूपैयाँ रहेको छ ।

नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा १२१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभइ निकुञ्जमा सीमित हुन्थ्यो ।

सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो ।बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । किनभने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँड्डुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गणनाका लागि सो क्षेत्रमा दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सैँ घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।

पुस ३ गतेदेखि क्यामेरा राखिने
“गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही पुस ३ गतेदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरु हुन्छ”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भन्नुभयो ।

क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य तीन ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्कोसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।

क्यामेराबाट तथ्याङ्क आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी सङ्ख्या एकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तर्राष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताउनुभयो ।

निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।

नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै, कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठुला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा समेत बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का सदस्यसचिव डा नरेश सुवेदीले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्त्व रहेको उल्लेख गर्दै बाघको उचित व्यवस्थापनमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वन मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा स्थानीय समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।” उहाँले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा.भगवानराज दाहालले भन्न्नुभयो, “अहिले नै बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन् । त्यस्तै, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो ।

विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठुलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।

देशभरका खोरमा १८ समस्याग्रस्त बाघ
बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक–एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठुलो रकम खर्च हुँदै आएको छ ।

सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा १८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...