स्थानीयवासीद्वारा ‘अक्पाल प्लान्ट’ हटाउन माग

17

मोरङ, २९ मङ्सिर । यहाँको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्टबाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । बस्ती, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट (अलकत्रा पोल्ने मेसिन) राखेपछि समुदाय प्रभावित भएका छन् ।

स्थानीय वृद्धवृद्धाहरु अक्पाल प्लान्ट सञ्चालन हुँदा गाँउ छाडेर आफन्तको तिर जान बाध्य भएको सचेत नागरिक समूहका अगुवा आनन्द राईले बताउनुभयो । उक्त प्लान्टले मानव स्वास्थ्य, पशुपन्छी तथा पर्यावरणमा गम्भीर असर पुर्‍याएको उनीहरुको गुनासो छ । प्लान्टबाट निस्कने धुवाँ, धुलो र अन्य प्रदूषणतत्वका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छीसमेत प्रभावित भइरहेको सो समूहका सचिव नवीन राईले बताउनुभयो ।

सम्बन्धित स्थानीय तहसँग अनुमति नलिएको कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी तीन÷चार पटक ‘डेलिगेसन’ लिएर आउनुभयो, समस्या देखिएको छ । अब यो विषयमा आगामी कार्यपालिकामा छलफल गरिनेछ ।” सो प्लान्ट पहिले देखिनै सञ्चालनमा रहेकाले गाउँपालिकाले सिधै बन्द गराउन नमिल्ने यादवको भनाइ छ ।

सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार बिएण्डबी कन्स्ट्रक्सनले २०७८ सालमा उक्त क्षेत्रमा अक्पाल प्लान्ट स्थापना गरेको हो । बस्तीबाट करिब ५० मिटरको दुरीमा रहेको यस प्लान्टले निरन्तर प्रदूषण फैलाउँदा वातावरणमै असर परेकाले स्थानीयवासीले हटाउन माग गरेका हुन् ।

सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक नलिएमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...