काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यहीँ महाधिवेशनमा छु, उहाँको र मेरो डुङ्गा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।”
चिनजानको प्रसङ्ग उठाउँदै उहाँले ०४३ सालमै ईश्वर पोख्रेलसँग भेट भएको स्मरण गर्नुभयो । आफू भूमिगत अवस्थाकै कार्यकर्ता भएको उल्लेख गर्दै उहाँले एमालेका सबै नेता आफ्ना लागि बराबर रहेको बताउनुभयो ।
“चिनजानकै कुरा गर्नुहुन्छ भने ०४३ सालमा ईश्वर पोख्रेल भेटेको मान्छे हो नि म,” उहाँले अगाडि भन्नुभयो, “एमालेका नेता मेरा लागि सबै उस्तै हुन्, बराबर हुन् । म भूमिगत बेलाकै कार्यकर्ता पनि हुँ । त्यसैले मैले कोही नेतालाई सिरानी हालेर अनुचित लाभ उठाएर हिँड्नुपर्ने छैन ।”
उहाँका अनुसार एमाले पार्टी विधि र प्रक्रियामै अघि बढ्ने परम्परा रहेको छ । “महाधिवेशन न पहिलो हो न अन्तिम,” उहाँले भन्नुभयो, “विधि र प्रक्रिया सधैँ रहने विषय हुन् ।”
उहाँले महाधिवेशनबाट एमाले अझ सशक्त र एकताबद्ध भएर बाहिरिनुपर्नेमा जोड दिनुभयो ।