मुगु, २८ मङ्सिर । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर २ जवलधाराका ९८ वर्षीय नन्द बहादुर शाहीले कर्णाली करिडोरअन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडामा निर्माण भएको बेलिब्रिज पुलको बीच भागमा ढोगेर पुलको यात्रा गर्नुभएको छ । पुलमाथि गाडी गुडेको दृश्यले शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गर्दै पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरि आँशु रसाएका थिए ।
“नदीमाथि गाडी गुडेको देख्ने इच्छा धेरै थियो, बल्ल पूरा भयो विगतमा आफ्ना पुस्ताहरुले तुइन तर्दा ज्यान गुमाएको, टाढाको बोटो हिँडेका पीडा पछिल्ला सन्ततीहरुलाई सहज भएको छ,” उहाँले भन्नुभयो । सोरु–२ का नन्द बहादुर शाही मात्र होइन यही सोही पालिकाका जवलधारा, नाथर्पु, भुइँमेला, धताडी, धुपी, सोरुकोटलगायतका बस्तीहरुका नागरिकहरुलाई पुल बन्दा सहज भएको छ ।
२०३३ सालअघिसम्म यस स्थानमा मानिसहरू बाबियोको लठ्ठाको सहाराले नदी वारपार गर्थे । ०३३ सालमा झोलुङ्गे पुल बनेपछि केही सहजता त भयो तर जोखिम टरेको थिएन । नन्दबहादुरका अनुसार उहाँसहित अन्य घर परिवारको जग्गा हुम्लाको तुम्च भन्ने स्थानमा थियो । त्यहाँँ पुग्न हुम्ला कर्णाली पार गर्नुपर्दथ्यो । वर्षायाममा नदी उर्लिँदा मान्छेको मन पनि उर्लिँन्थ्यो गने गरेको थियो ।
आज त्यहीँ नदीमाथि बेलिब्रिज बनेर मान्छेलगायत गाडी आफ्नै घर आँगनसम्म पुग्न थालेपछि पुल उहाँका लागि भौतिक संरचना मात्र होइन–आफ्नो पुस्ताले भोगेको पीडाको अन्त्य पनि भएको बताउनुहुन्छ । “म बाँचुञ्जेल यस्तो दृश्य देख्न पाइँदैन कि भन्ने डर थियो,” उहाँ भन्नुहुन्छ, “तर, आज आफ्नै आँखाले सपना पूरा भएको देखेँ ।” हुम्ला र मुगु जोड्ने यो बेलिब्रिजले केवल दुरी घटाएको छैन मान्छेको जीवनको आयु समेत बढाएको बताउनुहुन्छ ।
अधिकांशले कर्णाली करिडोर प्रयोग गर्न थालेका छन् । यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिएको छ । पुल निर्माणपछिको एक वर्षमै स्थानीय व्यापारीहरूले कृषकका घरमै पुगेर ६५ मेट्रिक टन रैथाने अन्नबाली खरिद गरी अन्यत्र ढुवानी गरेका छन् । यसले कृषकलाई रैथाने बालीको खेती र संरक्षणतर्फ थप प्रेरित गरेको स्थानीय बताउँछन् ।
पहिले बिरामी परे सदरमुकाम गमगढी पुग्नै पर्दथ्यो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए रारा विमानस्थल हुँदै नेपालगञ्ज वा काठमाडौंँ जानुपर्ने थियो । जहाज कुर्दाकुर्दै धेरैले ज्यान गुमाएका पीडादायी घटना पनि कम छैनन् । अहिले भने एम्बुलेन्स र जिपमार्फत् एक दिनमै सुर्खेत वा नेपालगञ्ज पुग्न सकिने भएको छ ।
“हामीले पाएका दुःख सुनाउने हो भने अहिलेको पुस्ताले पत्याउँदैन,” सोही वडाका नन्द बहादुर शाहीले भन्नुभयो । पुललाई ढोग्नुको कारण हाम्रो पुस्ताले भोगेको पीडालाई बिर्साउने विकासप्रति सम्मान गर्नु पनि रहेको बताउनुभयो ।
३ करोड ३७ लाख ९४ हजार ४३७ रुपैयाँ लागतमा निर्माण गरिएको ४८ मिटर लामो यो बेलिब्रिजले सोरु गाउँपालिकालाई कर्णाली करिडोरसँग जोडेको छ । यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभइ सोरुगाँउपालिकाको जीवन सुधार सहजताका लागि यो पालिकाको ठुलो उपलब्धी रहेको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताउनुभयो ।