- युवराज विष्ट
भोजपुर, २८ मङ्सिर । भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ ।
पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन् । राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको स्थानीयको भनाइ छ । यो खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको छ । बाढी आउने समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा अहिले पक्की पुल बनेपछि यातायात सञ्चालन सहज भएको सवारी चालक मिलन तामाङले बताउनुभयो ।
भोजपुर–कोट–गोगने–लेर्खक सडक खण्ड अन्तरगत राउते खोला पुलले टेम्केमैयुङ ९ लेर्खकको साविक वडा नम्बर ७ राउते र साविक वडा नम्बर ५ लेखर्कलाई जोडेको छ । यो खोलामा कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार, एक स्पानमा निर्माण भएको यो पुलको कुल लम्बाइ १६ मिटर २० सेन्टिमिटर रहेको छ । पुल सञ्चालनमा आएपछि स्थानीयको वषौँदेखिका समस्या हटेको उहाँको भनाइ छ । -रासस